सप्तरी/ राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन् । नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासू ससुरा खुसी भए ।

दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन् । प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए । वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए । पाँच जनाको परिवारमा दुई बालक थपिएपछि सात जना भए । जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो । सासू ससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो ।

विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन् । हातमा प्लास्टिकको झोला । झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र । दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्कैका भएछन् । गर्भ बोकें । प्रसव वेदना सहें । आमा हुनुको अनुभव बटुलें । सन्तान हुर्काएँ । दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ ।’

प्रहरीलाई निवेदन दिँदा उनले डाँको छाडेर रोइन् । लेखनदासले लेखेको उजुरी निवेदनमा सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा नदेखिए पनि लक्ष्मीको आँशुले त्यसलाई अभिव्यक्त गरेको थियो । उनको आँशुमा मातृवात्सल्य झल्किएको थियो । पति जागिरमा हुँदा सन्तान हुर्काउने जिम्मा लक्ष्मीकै थियो । धेरै दुःख गरिन् । भोकभोकै काम गरिन् । सासू ससुराको सेवा गरिन् । विगत बिर्सेर भविष्यको कल्पनामा रमाइन् । पति र छोराहरूको खुशीलाई अन्तिम सुख सम्झिइन् ।

महिनारायण भने इलाममा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन् । उनीसँग विवाह गरेर अर्कै संसारमा रमाएको लक्ष्मीले पत्तै पाइनन् । बेला–बेलामा महिनारायण घर आउँथे । लक्ष्मी परिवारको खुशीमै रमाएकी थिइन् । २०७४ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरूको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाका नाममा मुनाको नाम लेखाए ।

स्थानीय पञ्जिकाधिकारी तरुणकुमारले जन्मदर्ता बनाउन आउने सूचक स्वयम् बुवा भएपछि आमा को हो भनेर सोधखोज गरेनन् र आमाका नाममा इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिए । राजविराज अस्पतालबाट पनि लक्ष्मीको छोरा भएको प्रमाणित हुने लक्ष्मीका बुवा शिवनारायण यादवले दाबी गरे । अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीस्थित माइतीमा रहेकी लक्ष्मी आफ्नै छोराको वास्तविक आमा हुँ भन्ने प्रमाण जुटाउन र न्याय पाउन अस्पताल र प्रहरीकहाँ धाइरहेकी छिन् ।

महिनारायणले पनि छोराहरू लक्ष्मीबाटै जन्मिएको र आमाको नाममा दोस्री पत्नी मुनाको नाम लेखाएको स्विकारे। जागिर अवधिमा बाहिर रहँदा पत्नीबारे गाउँलेले अनेकौं कुरा गरेकाले सम्बन्धविच्छेद गर्न चाहे पनि लक्ष्मीले नमानेपछि आफूले दोस्रो विवाह गरेको उनले बताए । यो कुरा थाहा पाएकी मुना पनि अहिले उनीबाट अलग भएकी छिन् । प्रहरी निरीक्षक प्रकाश बस्नेतले निवेदन दर्ता गरी आवश्यक प्रक्रिया थालिएको बताए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय