काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बीच सोमबार विहान बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा दुई अध्यक्षबीच आइतवार सकिएको स्थायी कमिटीको बैठक, समाभुख चयन र एमसीसीका बारेमा छलफल भएको छ ।
संसदको हिँउदे अधिवेशन शुरु भएसँगै नयाँ सभामुखको चयन गर्नुपर्ने भएको छ । उपसभामुख शिवमाया तुम्वाहाङफेलाई राजीनामा गराएर नेकपाले सुवास नेम्वाङलाई सभामुख चयनको तयारी गरेको छ ।
दुई घन्टा लामो छलफलका क्रममा सभामुख चयन, शिवमायाको व्यवस्थापन लगायतको विषयमा छलफल भएको थियो ।
यस्तै दुई नेताबीच एमसीसीका बारेमा पनि छलफल भएको छ । खासगरी स्थायी समिति बैठकमा एमसीसीबारे उठेका प्रश्न र बैठकले गरेको निर्णयबारे ठोस धारणा कसरी बनाउने भन्नेमा दुई नेताबीच परामर्श भएको बुझिएको छ । स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएपछि दुई अध्यक्ष यसको गृहकार्यमा जुटेका हुन् ।










