२० बैशाख–‘उहाँले भेट्न चाहनु भएन । हजुर फर्किनु भए हुन्छ रे !’ प्रधानन्यायाधीश सुशीला कार्कीका सहयोगीले कार्कीलाई भेट्न क्वार्टर पुगेका माओवादी नेता तथा सभामुख ओनसरी घर्तीका पति वर्षमान पुनलाई यसो भनिदिए । कार्कीलाई भेट्न पुगेका सभामुखपति पुनले प्रधानन्यायाधीशका सहयोगीले यस्तो खवर ल्याएपछि अनुहार नै अर्कै बनाएर सानो स्वरमा भने– ‘ठीकै छ दुर्गा दाइ (प्रधानन्यायाधीश कार्कीका पति दुर्गा सुवेदी) त हुनुहुन्छ होला नि !’
सहयोगीले भने– ‘हुनुहुन्छ । बोलाइदिउँ ?’ बसौं कि जाऔं भएका वर्षमानले सहमति जनाएर भने– ‘बोलाइदिनुस् ।’
अनि प्रधानन्यायाधीशका सहयोगी माथि गए र उनका पति दुर्गा सुवेदीलाई बोलाइदिए । केहीबेरमा दुर्गा सुवेदी माथिबाट तल झरेर वर्षमान पुनसँग हात मिलाउँदै भने– ‘नमस्कार नमस्कार वर्षमानजी ! सञ्चै हुनुहुन्छ ?’ जनआस्था साप्ताहिकमा छापेको खवर अनुसार प्रधानन्यायाधीश कार्कीलाई महाभियोग लगाउनु भन्दा तीन दिन अघि बैशाख १४ गतेको भेटघाट थियो यो ।
सभामुखका पति भएकाले सभामुखले पालना गर्नु पर्ने निष्पक्षताको आचारसंहिता परिवारका सदस्यलाई पनि केही हदसम्म लाग्ने भए पनि वर्षमान सत्ताखेल देखि न्यायाधीश नियुक्तिमा समेत बिचौलियाका रुपमा सहभागि हुँदै आएकै थिए । त्यस दिन पनि उनी प्रधानन्यायाधीशको निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिनिधि भएर सर्वाेच्चमा विचाराधीन मुद्दा जसको विपक्षी प्रधानमन्त्री दाहाल थिए, मुद्दा आफ्नो पक्षमा पारिदिने वार्गेनिङ गर्न गएका थिए ।
प्रधानन्यायाधीशले भेट्न अस्वीकार गरेपछि उनले प्रधानन्यायाधीशका पति दुर्गा सुवेदी मार्फत भेट्ने प्रयास गरे । वर्षमानले सुवेदीसँग पनि भूमिका बाँधेर भने– ‘हेर्नुस् दाइ ! अदालत र सरकारबीच यत्रो कन्फर्टेसन हुनु राम्रो कुरा होइन । कहीँ न कहीँ त सेटल गर्नु पर्छ । तपाईंजत्तिको मान्छे यहाँ भएपछि केही न केही सेटल गर्न सकिन्छ भनेर म यहाँ आएँ । सम्माननीयज्यूलाई भेटाइदिनु पर्यो ।’
वर्षमानले यति भनेपछि दुर्गा सुवेदीले अहिलेको विषय प्रधानन्यायाधीश र प्रधानमन्त्रीको नभएर अदालतमा विचाराधीन मुद्दाको पक्षका रुपमा हुने भएकाले न्यायपालिकाको कोडअफ कन्टक्टका कारण भेट्न अप्ठ्यारो हुने वताए । आइजीपी नियुक्तिका विषयमा विचाराधीन मुद्दामा प्रधानमन्त्री विपक्षी भएकाले यस्तो बेला न्यायाधीशले कुनै पनि पक्षसँग भेट्न नहुने आचारसंहिता सुवेदीले सम्झाए– ‘अहिलेको अवस्था त प्रधानमन्त्री र प्रधानन्यायाधीशको ओइन नि वर्षमानजी ! प्रचण्डजी त मुद्दाको विपक्षी पनि हो ।’
दुर्गाले यति भनेपछि वर्षमानले फेरि कन्भिन्स गर्ने प्रयास गरे– ‘त्यसैले त दुर्गा दाइ उहाँ आउनु भएको छैन, म भेट्न आएको हुँ । म मन्त्री पनि होइन, आइजीपी मुद्दाको विपक्षी पनि होइन । मलाई भेट्न त कोड अफ कन्डक्टले छेक्दैन नि !’
दुर्गा सुवेदीले फेरि जवाफ दिए– ‘सुशीलाजीले भेट्दिन नै भन्नु भएको छ । तपाईं प्रधानमन्त्रीले पठाएर दूतका रुपमा आउनु भएको छ । मुद्दा चलिरहेका बेला न्यायाधीशले यसरी कुनै पनि पक्षलाई भेट्नु हुँदैन भन्ने उहाँहरुको कोडअफ कन्डक्ट नै रहेछ । वर्षमानजी अव मैले यस्तो कुरा कसरी भनूँ !’
वर्षमानले फेरि जोड गरे– ‘दाइले प्रयास गरे नहुने कुरै छैन ।’ दुर्गा सुवेदीले तुरुन्तै जवाफ दिए– ‘हैन हैन मैले भनेर हुँदैन, हुने कुरो होइन ।’
यसवारे जनआस्थाले राखेको जिज्ञासामा सुवेदीले भने– ‘मैले भनेर हुने कुरै थिएन । प्रधानन्यायाधीश त सुशीलाजी हो नि, थोडी म हो र ?’ यसरी प्रधानन्यायाधीकहाँ पुगेर वर्षमानले गर्न चाहेका कुरा अदालतमा प्रधानमन्त्री विपक्षी बनेर चलेको मुद्दा लम्याइदिनु पर्ने, सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गर्दा रातारात नयाँ तयार गरिएको कार्यसम्पादन मुल्यांकनको रिपोर्टलाई सदर गरिदिनु पर्ने र सर्वश्वसहित जन्मकैद सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु भनी सर्बाेच्चले गरेको पत्राचार फिर्ता गरिनु पर्ने । दुर्गा सुवेदीलाई पहिले फकाएर कुरा गरेका वर्षमानले यति दुईवटा काम प्रधानन्यायाधशिले नगरे महाभियोग लगाइने धम्की समेत दिए ।
आइजीपी नियुक्तिका विषयमा पहिलो पटक सर्बाेच्चमा परेको मुद्दामा सरकारले पठाएको कार्यसम्पादन मुल्यांकनमा नवराज सिलवाल माथि रहेको कागजात लोकसेवा आयोगमै भएकाले पछिल्लो पटक प्रकाश अर्याललाई माथि पार्नेगरी रातारात तयार गरिएको मुल्यांकन रिपोर्ट किर्ते ठहर हुने चिन्ताले यसरी वर्षमान प्रधानन्यायाधीश भेट्न गएका थिए । पहिले मुद्दामा सरकार आफैंले पठाएको कासमु रिपोर्टमा सिलवाल माथि भएपछि पछिल्लो पटक प्रकाश अर्याललाई माथि देखाएर बनाइएको कासमु स्वतः किर्ते ठहर्ने सरकारको बुझाई छ । त्यसैले पहिले सरकारले सर्बाेच्चमा बुझाएको रिपोर्ट बमोजिम सिलवालले बुझाएको कासमुलाई चाहीँ किर्ते भन्दै सरकार आफैंले अर्काे किर्ते कासमु तयार गरी सक्कलीलाई चाहीँ किर्ते दावी गर्दै आएको छ ।



