विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर बुधबार दमकमा नेपाल प्रेस यूनियनले सञ्चार र नेतृत्व विकास सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको उक्त तालिममा नेपाली कांग्रेस दमकसहित कमल गाँउपालिकाका वडा सभापति,सचिव ,भातृ संगठनका तीन दर्जन बढी अगुवाहरु सहभागि रहेका थिए ।
तालिममा यूनियनका केन्द्रीय पार्षद तथा सरगम रेडियोका प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौला र झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीले सहजीकरण गरेका थिए । निरौलाले उद्घोषक, भाषण कला विधिका बारेमा सहजीकरण गरेका थिए भने क्षेत्रीले पत्रकार सम्मेलन , प्रेस विज्ञप्ती कसरी लेख्ने सम्बन्धी आधारभूत जानकारी दिएका थिए । तालिम सांसद महेन्द्रकुमारी सुब्बाको संसद विकास कोषको सहयोगमा भएको थियो ।
सफल नेतृत्व कसरी दिन सकिन्छ भन्ने उद्देश्यले पार्टीका अग्रजहरुलाई त्यस तालिम सञ्चालन गरिएको यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले बताउछन् । उनका अनुसार सोहि तालिम एक साता पछि जिल्लाको दक्षिणी गौरीगञ्जमा समेत आयोजना गरिने छ । तालिम उद्घाटन कार्यक्रममा पार्टीका महासमिति सदस्य शेरवहादुर भट्टराई,महाधिबेशन प्रतिनिधी रेगिना भट्टराई प्रसाई, सहजकर्ता क्षेत्रीलगायतले पार्टी स्थानीय नेतृत्व बलियो बनाउन तालिम उपयोगी हुने जोड दिएका थिए ।










