चीनको प्रविधि कम्पनी हुआवेले स्मार्टफोनहरूमा गूगल यापको साटो आफ्नै वैकल्पिक यापहरू ल्याउन लागेको संकेत दिएको छ । हुआवेका एक कार्यकारीले यस विषयको संकेत दिँदै गूगलको मेल, म्याप, मेसेजिङ र पेमेन्ट यापहरूको स्वदेशी विकल्प विकसित गरिरहेको बताए ।
गत साता फैलिएको हल्लाअनुसार हुआवेले आफ्नो नयाँ स्मार्टफोन पी४० मा गूगल सफ्टवेयर हुने छैन । अमेरिकी सरकारले गूगललाई हुआवेसँग व्यापार गर्न प्रतिबन्ध लगाएपछि हुआवेको नयाँ स्मार्टफोनमा गूगलको याप प्रयोग गर्न बन्देज लागेको थियो ।
गत मे महिनामा प्रतिबन्ध लगाउँदा अमेरिकाले हुआवेको निटक सम्बन्ध चिनियाँ सरकारसँग रहेको र यसले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको आरोप लगाएको थियो । हुआवेले आफ्नै यापहरू प्रयोग गर्ने विषयलाई भारतस्थित हुआवे कन्ज्युमर हेड चार्ल्स पेङले मंगलवार संकेत गरेका हुन् ।
‘हाम्रो आफ्नै सिस्टम छ र अब हामी नयाँ इकोसिस्टम बनाउन खोज्दैछौं । नेभिगेसन, पेमेन्ट्स, गेमिङ र मेसेजिङ जस्ता महत्त्वपूर्ण यापहरू तयार भइसकेका छन्,’ उनले भने ।
गूगल मिडिया सर्भिसको काउन्टरपार्टका रूपमा हुआवेले आफ्नै मिडिया सर्भिस ल्याउन लागेको हो । उपभोक्ताहरूले गूगल र हुआवेको मिडिया सर्भिसमा भिन्नता नपाउने पेङले बताए । ‘हामीहरू डेभलोपरहरूसँग मिलेर उपभोक्ताहरूलाई कसरी राम्रो अनुभव दिलाउन सक्छौं भनी जोड दिइरहेका छौं । हामीहरूले यस चुनौतीलाई सम्बोधन गर्ने कोशिश गरेका छौं,’ उनले थपे । एजेन्सी










