झापा । दक्षिण पूर्वी एशियाकै नमूना तथा २१औं शताब्दीकै अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल दावी गर्दै झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनको अन्तिम तयारी गरिएको छ ।
झापाको बिर्तामोडमा रहेको बि एण्ड सी मेडिकल कलेज टिचिङ अस्पतालको भगिनी संस्थाको रुपमा अत्याधुनिक प्रविधिसहितको क्यान्सर अस्पताल जनवरी १, २०२० बाट सञ्चालनमा ल्याउने तयारी भएको हो ।
आज अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरेर क्यान्सर अस्पतालको सेवा सुरु गर्न लागेको जनाएको हो । करिब १ विगाहा जमिनमा ४०० करोड रुपैयाँको लागतमा नवनिर्मित अस्पतालले अब थप ९०० जनालाई प्रतक्ष्य रोजगारी दिनसक्ने बताइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्राएको दाबी गर्दै क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिनसक्ने ‘ट्रु बिम लिनियर एक्सेलेरेटर’ मेसिन बि एण्ड सीमा रहेको सुनाए ।
यहाँबाट १८ सय किलोमिटरको पेरिफेरीमा यो लेभलको अस्पताल छैन, कार्यकारी निर्देशक प्रसाईले भने, म आफैं क्यान्सरको रोगी भएकाले यहीँ उपचार सम्भव छ भन्ने सन्देशसहित अत्याधुनिक उपकरण राखेर अस्पताल खोलिएको जनाए ।
‘नेपालमा सरकार सधैं यस्तो कार्यका लागि असहयोगी छ, विगतका धेरै बाधा अप्ठ्याराहरु छिचोलेर यो आयाम सुरु गरेका छौं, अब क्यान्सर लाग्दैमा कसैले मर्नु पर्दैन’ कार्यकारी निर्देशक प्रसाईले दावी गरेका छन् ।
‘क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको छ’ क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले भने ‘यो प्रविधि नेपालमै पहिलो हो, यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता अब हट्नेछ ।’
अस्पतालको सेवा सुरु हुनुअघि नै ४० जनाभन्दा बढी बिरामीले नाम दर्ता गरिसकेको बताउँदै मेडिकल डाइरेक्टर डा. यादवले अन्य अस्पतालमा उपचार गराइरहेका र भारतको विभिन्न ठाउँका बिरामीले पनि उपचारार्थ नाम दर्ता गराइरहेका छन् ।
बि एण्ड सी अस्पतालसँगै जोडिएको तथा एउटै समूहले लगानी गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष पनि निर्माणकै चरणमा रहेको पत्रकारहरुलाई अवलोकन गराइएको थियो ।
अस्पतालले सेवा सुरु गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने जनाइएको छ । ‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ’ कार्यकारी निर्देशक प्रसाईंले भने, ‘अस्पताल सुरु भएको अवसरमा हामी एकजना बिरामीको सम्पूर्ण खर्च आफैं ब्यहोर्छौं ।’
‘सरकारले पर्यटकीयस्थललाई मात्रै देखाएर नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्यो’ प्रसाईंले भने, ‘हामी नेपाललाई मेडिकल टुरिजमको हब बनाउन चाहान्छौं ।’
‘बिर्तामोडको विकासलाई नजिकबाट हेर्ने कोही भएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दमकले छाडेन, नेकपाका अध्यक्ष प्रचण्डलाई चितवन बनाउनै भ्याई नभ्याई छ । उनीहरुले त्यही ठाउँलाई चिनाए । बिर्तामोडलाई चिनाउन बि एण्ड सी अस्पताल र दुर्गा प्रसाईं अघि सरेको छ, पक्कै सफल भइन्छ ।’










