दमक । बारम्बार जंगली हात्तीले दुःख दिएको भन्दै झापाको कमल गाँउपालिका ५ का बासिन्दाले दिगोरूपमा यो समस्या समाधान गर्न माग गरेका छन्। बुधबार रातिसमेत सोही वडाको गुहेश्वरी टोलमा आएको एक जोडी जंगली हात्तीको आक्रमणबाट तीनवटा घरमा क्षति पुर्‍याएपछि स्थानीय त्रसित भएका हुन्।

वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउँदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसीलको घरमा क्षति पुगेको हो। उनीहरूले हात्ती गाउँ नपस्ने व्यवस्था मिलाई दिन माग गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात्तीले उपद्रोबाट विष्णु र लक्ष्मीको घरमा सामान्य क्षति पुर्‍याएको छ भने मोहमदको भने घरको बेरा भत्काउनुका साथै धानसमेत खाएर क्षति पुगेको छ। हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जंगलबाट आएको र रातभरि टोलबासी त्रसित हुनुपरेको वडाध्यक्ष निरौलाले बताए। हात्तीलाई राति नै प्रहरीसहित स्थानीयको सहयोगबाट जंगलतर्फ धपाइएको थियो।