२० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी स्थानमा जित्ने दाबी गरेको छ । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा जित्ने दाबी गरेका हुन् ।
दुई दशकपछि नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै भट्टराईले एमालेको सुदृढ संगठन, बलियो जनाधार र एकताबद्ध नेतृत्व र सबल राख्नको लागि यो चुनाव आफ्नो पार्टीले नै जित्ने स्पष्ट पारे ।
उनले भने, ‘हामी यो चुनावमा ६० प्रतिशत भन्दा ज्यादा केन्द्रहरुमा विजयी हुन्छौं, किनकी हामीले लोकप्रिय नेताहरुको उम्मेद्धवारी दिएका छौं, हामीले तालमेल पनि गरेका छौं ।’
राप्रपासँगको चुनावी तालमेललाई नौलो विषयको रुपमा नहेर्न आग्रह
सचिव भट्टराईले राप्रपासँग पार्टीले चुनावी तालमेल गरेको विषयलाई नौलो विषयको रुपमा नहेर्न समेत आग्रह गरे । भट्टराईले थपे, ‘कमल थापा सबैको नेतृत्व रहेको सरकारमा सहभागी हुनुभएको छ, ओलीजीसँग पनि हुनुभएको छ, क्रान्तिकारी पार्टी माओवादी अध्यक्ष प्रचण्डको नतृत्वमा पनि मन्त्री बन्नुभएको छ, यो नौलो कुरा होइन ।’ उनले स्थानीय तथा राष्ट्रिय आवश्यकत्ताले गर्दा एमालेले चुनावी तालमेल गरेको स्पष्ट पारे ।
संशोधन विधेयक र महाअभियोग फिर्ता नलिए आन्दोलन गर्ने
सचिव भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव दुवै फिर्ता नलिए आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने, ‘प्रचण्ड सरकारले बुद्धि पुर्याउँछ भने यो संशोधन विद्येयक फिर्ता लिनुपर्छ, अब संशोधन प्रस्तावको औचित्य छैन, किनकी देश निर्वाचनमा होमिसकेको छ, अब पनि संसद खरिद बिक्री गरेर बस्ने बेला होईन ।’
भट्टराईले काँग्रेसको कामकारबाही जनहितमा नभएको समेत आरोप लगाए । उनले भने, ‘काँग्रेस फेरि पनि तीनैको हातमा गयो, जसले ०५१ सालमा संसद किनबेच गर्ने काम गर्यो, हाम्रो देश पछि पर्नुको प्रमुख कारण नै काँग्रेसले लिएको अस्थिर नीति हो, र कमजोर नेतृत्व हो ।’ उनले काँग्रेस नै नेपालको अस्थिरत राजनीतिको जननी भएको दोष लगाए । उनले देश पछि पर्नुको अर्को कारण भने माओवादीले थालेको सशस्त्र युद्ध अर्थात हिंसाको राजनीति रहेको आरोप लगाए । उनले भने, ‘यही दुई वटा कारणले गर्दा आज विदेशी शक्तिले नेपालमा खेलिरहेको छ ।’
काँग्रेसले गतिलो नीति लिएको भए नेपाली युवाहरु आज लाखौंको संख्यामा खाँडी मुलुक जानुपर्ने बाध्यता आउँदैन्थ्यो भनेर उनले चिन्ता समेत औंल्याए । उनले भने, ‘हाम्रो देशमा भएका त्यत्रा उद्योगधन्दाहरु कहाँ पुगे ? खोई बाँसबारी छाला जुत्ता, हेटौंडा सिमेन्ट कहाँ पुग्यो ? जनकपुर चुरोट कारखाना कहाँ पुग्यो ?यी सबै उद्योगधन्दा र कलकारखाना काँग्रेसले कौडीको नाममा बेचेर खाएको हो ।’
उनले प्रधानन्यायाधिश सुशिलाकार्कीविरुद्ध ल्याएको महाअभियोग प्रस्तावको विरोध गर्दै वर्तमान सरकारले हठवाजी देखाएको समेत आरोप लगाए । उनले भने, ‘यो हठबाजी निर्वाचन भाँड्नको लागि हो, तर जनता जागेपछि कसैको पनि केही लाग्दैन नि ।’ देशले एमालेको नेतृत्व चाहेको उनको भनाई थियो ।



