काठमाडाैं/ दुई महिनाअघि काभ्रेमा दम्पतीको हत्या भएको घटनाको प्रहरीले अनुसन्धान टुंग्याएको छ । पुराना सिक्का र नगद लुट्नका लागि दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । गत १९ कात्तिकमा नमोबुद्ध–८ दाप्चामा श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाको हत्या भएको थियो ।

हत्यामा संलग्न उदयपुरका किरणकुमार मगर र सुमन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार पक्राउ गरेको हो । ‘वास बस्ने बहानामा योजना बनाएरै उनीहरू लुटपाटका लागि त्यो घरमा गएका रहेछन्,’ सिआइबीका एसपी बेलबहादुर पाण्डेले भने, ‘पछि घम्साघम्सी भएपछि हत्या गरेको उनीहरूले बताएका छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको भोलिपल्टै अनुसन्धानका लागि सिआइबीबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा टोली खटिएको थियो । अनेक कोणबाट अनुसन्धान गर्दा पनि अभियुक्त पत्ता लगाउन प्रहरी सफल भएन । श्रेष्ठदम्पतीको होटेल पनि भएको र ग्राहकबाटै हत्या भएको हुन सक्ने आकलन गरिएको थियो । सम्पतीका लागि आफन्तकै संलग्नताको कोणबाट पनि प्रहरीले अनुसन्धान गर्दा केही पत्ता लागेन ।

मोबाइललगायत प्राविधिक कोणबाट अनुसन्धान गरी विभिन्न व्यक्तिमाथि सोधपुछ गरिएको थियो । घटनाका वेला प्रयोग भएको जुत्ता निर्माण मजदुरहरूले घरको ढलान तथा प्लास्टरमा लगाउने प्रहरीले थाहा पायो । त्यसपछि प्रहरी अनुसन्धान निर्माण मजदुरतर्फ सोझियो । गाउँमा घर ढलान गर्न गएका दुई युवकमाथि प्रहरीले अनुसन्धान गर्दा निशाना सही साबित भयो ।

डिएसपी बस्नेतका अनुसार पक्राउ परेकाले नै श्रेष्ठदम्पतीको घरमा केही महिनाअघि प्लास्टर गरेका थिए । त्यो घरमा दुईजना मात्र बस्ने र प्रशस्त पुराना सिक्का भएको आशंकामा लुट्न भनेर उनीहरू काठमाडौंबाट अघिल्लो दिन गएका थिए ।

उनीहरू सो घरमा पुग्दा बेलुकाको करिब नौ बजिसकेको थियो, श्रेष्ठदम्पती सुतिसकेका थिए । उनीहरू झ्यालबाट घरभित्र छिरे । घरमा कोही छिरेको थाहा पाएपछि श्रेष्ठदम्पती उठेका थिए । उदयपुरबाट काठमाडौं जान लागेको र रात परेकाले वास बस्न आएको बहाना उनीहरूले बनाए । आफ्नो घर बनाउने मजदुरहरू नै आएपछि श्रेष्ठदम्पतीले उनीहरूलाई खाना खुवाए । सँगै मदिरा पिएर दम्पती सुत्न भनी माथिल्लो तलामा गए, उनीहरू तल्लो तलामा सुते ।

बेलुका पैसालगायत धनमाल चोर्न भनेर उनीहरू माथिल्लो तलामा गएको थाहा पाएपछि श्याम कृष्ण उठे । ती युवकले थप मदिरा खान मन लागेकाले बोलाउन आएको बहाना गरे । श्यामकृष्णले थप मदिरा पनि दिए । चोर्न सहज नहुने देखेपछि उनीहरूले श्याकृष्णलाई नियन्त्रण गर्न खोजे । घाँटी अठ्याएपछि श्यामकृष्णले पनि प्रतिकार गरे । त्यसपछि जुटको डोरीले बाँधेर खुर्पाले हानी श्यामकृष्णको हत्या गरे । हल्ला भएपछि रुकुमाया तल्लो तलामा आइन् । श्रीमान्को हत्या भएको देखेपछि उनी झ्यालबाट भाग्ने प्रयास गरिन् । तर, उनीहरूले रुकुमायालाई पनि खुर्पा र बियरको बोतलले हानेर हत्या गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।