देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । झापा, रुकुम र म्यादीमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकाे छ भने, २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन ।

यसैगरी पश्चिम रुकुममा लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् छन् ।

यसैगरी म्यादीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमामा शनिबार बेलुकी ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । सोही ठाउँमा रहेको निलगिरी हाइड्रोपावरको ट्रक माटो फाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २८ वर्षीय भगवानकुमार चौधरीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।