
दमक/ झापाको दमक २ स्थित समाजसुधार प्रतिष्ठानमा गुरुकुल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न संघीय सरकारबाट २० लाख रुपैयाँ प्राप्त भएपछि आज गुरुकुलका लागि आवश्यक पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ ।
दमक २ का वडाध्यक्ष प्रजापति सापाकोटाका अनुसार संघीय सरकारले पूर्वाधार निर्माणका लागि २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको र सो मध्ये हाल २० लाख रुपैयाँ प्राप्त भएकाले प्रतिष्ठानको भवनको माथिल्लो तलामा गुरुकुलका लागि पूर्वाधार निर्माण गरिने बताउनु भयो ।
सो निर्माणको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिलान्यास गर्नुभएको छ । शिलान्यासपछि नगर प्रमुख ओलीले समाज सुधार प्रतिष्ठानले समाज सुधारका पक्षमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सक्नुपर्ने सुझाउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष विजय बरालको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा वडाध्यक्ष सापकोटाले वडामा धेरै मठ मन्दिर तथा धार्मिक संस्थाहरु रहेकाले सबैको सन्तुलित विकास र संरक्षणका लागि वडाले पहल गर्ने बताउनु भयो । नेत्र दाहालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रतिष्ठानका सचिव बसन्त काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो ।