तिलक घिमिरे ‘निर्मल’

भनिन्छ, अभाव नै दुष्कर्मको कारक हो । बिहान–बेलुकाको छाक टार्न, सन्तानको भोको पेटमा माड लगाउन एवं सन्तानको सुखद भविष्यको खातिर जस्तोसुकै जोखिम मोल्न पनि तयार हुने आमाहरु ममताकी सागर, सभ्यताकी खानी तथा विकासकी जननी हुन् ।

आमाले आफ्नो व्यक्तिगत सुखसयलको वास्ता गर्दिनन्, सबै अघाएपछि मात्र बचेको खान्छिन् । सबै लालाबालालाई खाना दिँदा आफूलाई पुगेन भने “आज मलाई भोक लागेको थिएन” भन्ने पनि तिनै ममताकी खानी हुन् आमा । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रूण गर्भमा हुर्काएर अर्काको सन्तानलाई जन्म दिएको विडम्बनापूर्ण उदाहरण हाल विभिन्न सञ्चारमाध्यममा सुन्न आइरहेको सेरेफेरोमा म त्यस्तो आमासँग भेट भएको प्रसंग उजागर गर्न चाहन्छु ।

पंक्तिकारसँग हालै काठमाडौँको सुकुमबासी बस्तीमा बसोबास गर्ने स्थायी ठेगाना चितवन बताउने देवी परियार (२८) नाम परिवर्तनले यसबारेमा बताएको कुरा सुन्दा आङै सिरिङ्ग हुन्छ । बडो मार्मिक व्यथा रहेछ उनको जीवनको । उनका अनुसार एक जना चिनजानकी दिदी काठमाडौँको एक नाम चलेको अस्पतालमा पियनको रुपमा काम गर्थिन् । उनीहरुका दुरवस्थाको बारेमा ती दिदी परिचित थिइन् रे ।

उनले नै एकदिन सोही अस्पतालको डाक्टरसँग भेट गराइदिइन् । सो अस्पतालमा एक विदेशी दम्पती चेकजाँचको लागि सदा आउने रहेछन् । तर, उनीहरुका बालबच्चा रहेनछन् ।

डाक्टरले उनीहरुका लागि बच्चा जन्माइदिने भए ५ लाख नगद र एक वर्षसम्मको लागि खाने–बस्ने व्यवस्था पनि मिलाइदिने र सोका लागि एक लाख पचास हजारसमेत गरी जम्मा ६ लाख पचास हजार दिने बताइन् । श्रीमान्श्रीमती छलफल गरी प्रस्ताव उपयुक्त ठह¥याई राजी भए । डाक्टरको सल्लाहबमोजिम एक वर्षका लागि त्यस सहर छोडी जानुपर्ने भयो र उनीहरुकै व्यवस्थापनमा धरानमा एक कोठा लिई त्यहाँ गई बसिन् ।

समय–समयमा डाक्टर र ती विदेशी धरानमा आइरहन्थे र एक क्लिनिकमा चेकअपसमेत गराइरहन्थे । बच्चा जन्मेको एक महिनापछि ती विदेशीले सबै पैसा बुझाई बच्चा लिएर गए । भोलिपल्ट हामी पनि काठमाडौँ सर्ने तरखर गर्दै थियौँ । ती विदेशी महिलाले चाहिँ फोन गरेर खुसी हुँदै धन्यवाद प्रकट गरिन् र यो गुन कदापि भुल्न नसक्ने बताइन् । साथै, यो बीस लाखले तपाईंको भविष्य राम्रो हुनेछ र बालबच्चाको पढाइ राम्रो हुनेछ भनेर बताइन् ।

यो सुन्दा उनी छाँगाबाट झरेजस्तै भइन्, किनकि बीस लाख रकम दिएका रहेछन् उनीहरुले तर पाइन् उनले केवल छ लाख पचास हजार । बाँकी रकम उनै दिदी भनाउँदी र डाक्टर मिलेर खाएछन् । कोखमा पनि दलाल लागेको चाल पाएपछि उनी आक्रोशित हुन्छिन् । तर, कसैलाई भन्ने र उजुरी गर्ने हिम्मत नभएकाले उनले आफ्नो पीडा सहेर बसिरहेकी छिन् । कहिलेकाहीँ भक्कानिन्छिन्, धिक्कार्छिन् ती मानव कोखका दलालहरुलाई । तर, कसैले चाल पाएमात्र पनि बेइज्जत हुने डरले मनमनै मुर्मुरिएर बस्नुसिवाय उनीसँग कुनै विकल्प नभएकाले बच्चा नहुनेलाई बच्चादान गरेको र त्यो पुण्य कर्म गरेको भनेर मन बुझाउनुसिवाय अरु कुनै विकल्प नभएको गुनासो गर्छिन् ।

उनका हरेक शब्द–शब्दमा लुकेको मर्मस्पर्शी भाव एकपटक गम्भीर भएर सोच्ने हो भने सजिलै बुझ्न सकिन्छ कि हाम्रो समाजको अभाव तथा आर्थिक विपन्नताजस्ता कमजोरीलाई समाएर फाइदा लुट्नेहरु बग्रेल्ती भेटिन्छन्, यिनै समाजका दलाली पिपासुहरु । अंश, वंश र शरीरमाथिको अधिकारलाई संविधानमा नै सुनिश्चित गरिनुपर्छ भन्ने आममहिलाहरुको आवाज रहेको छ । नयाँ संविधानमा अंशको कुरा छोरा र छोरीमा सुनिश्चित छ, तर वंशको हकमा भने विशेष परिस्थितिमा बाहेक अन्य अवस्थामा सम्पूर्ण अधिकार पुरूषकेन्द्रित छ । यद्यपि, कार्यान्वयनमा विभिन्न त¤वहरु भने चुनौतीका रुपमा खडा भएको देखिन्छ । यतिबेला नेपालमा केही समयदेखि गुपचुप रुपमा चलिरहेको सरोगेसी सेवाबारे बहस सुरू भएको छ ।

सरोगेसी अर्थात् भाडाको कोखसम्बन्धी कानुन बनाउन दस महिनाअधि बनेको निर्देशिकाको फाइल यतिबेला स्वास्थ्य मन्त्रालयबाटै गायब भएको कुरा सञ्चारमाध्यमबाट बाहिर भएको छ र योसँगै कसरी नेपालमा गोप्य रुपमा आमाको कोखको बिक्री भैरहेको छ भन्ने कुरा पनि बाहिर आएको छ ।

समाचारमा आएअनुसार अहिलेसम्म नेपालका केही ठूला अस्पतालमा पैसामा आमाको कोख बिक्री भैरहेको थाहा भएको छ । सरोगेसी एकातिरबाट हेर्ने हो भने सेवा होला तर अर्कोतिरबाट हेर्दा यस्तो विकृत व्यापार हो जसले पैसाको लोभमा महिलाको शोषण गरिरहेको हुन्छ, त्यो पनि उनीहरुको शरीरको ।

सरोगेसीले सम्बन्धित महिलालाई के–कति फाइदा पु¥याउला, त्यो बहसको विषय होइन । यहाँ बहसको विषय हो, कोखको व्यापार । कति जायज छ त यो व्यापार ? कानुन बन्ने तरखरमा रहेको यो व्यापार गुपचुप रुपमा नेपालमा मौलाउनुको मुख्य कारण हो, सन् २०१४ मा थाइल्यान्डमा र २०१५ मा भारतमा यो सेवामाथि प्रतिबन्ध लाग्नु । भन्नमा सेवा भनिए तापनि यसबाट अनेक विकृति जन्मिएपछि यी देशमा सरोगेसीमा प्रतिबन्ध लाग्यो । सन् २००२ देखि भारतमा व्यावसायिक रुपमा सरोगेसी सुरू भएको देखिन्छ ।

विभिन्न युरोपेली र अमेरिकी देशका निःसन्तान दम्पती, सन्तान जन्माउन नचाहने जोडी तथा समलिंगीहरुले आफ्नो देशमा भाडामा सन्तान जन्माउन निकै महँगो पर्ने भएकाले भारत, बंगलादेशजस्ता देशका गरिब महिलालाई प्रयोग गर्ने गरेको र सन् २०१५ सम्म भारतमा आएर यो सेवा लिने गरेकोमा भारतमा यसमा प्रतिबन्ध लागेपछि उनीहरुको गन्तव्य नेपाल बनेको देखिन्छ ।

पछिल्लो समयमा इजरायलीहरुको गन्तव्य नेपाल बनेको छ, जहाँ भारत र बंगलादेशबाट गरिब तथा विपन्न महिलाहरु ल्याएर उनीहरुको कोखबाट सन्तान जन्माएर लैजाने गरेको खुलासा भएको छ । यदि २०७२ वैशाख १२ गते महाभूकम्प नगएको भए सायद यो कुरा बाहिर आउन अझै कति समय लाग्थ्यो होला भन्न सकिन्न । हालै इजरायलमा नेपाली महिलाका लागि खुलेको कामदार कोटा पनि हतारमा इजरायल लगिएका सरोगेट बच्चाहरुको स्याहारका लागि हो भन्ने हल्ला पनि सुन्नमा आएको छ ।

सुन्नमा आएअनुसार नेपालमा आएर भाडाका सन्तान जन्माउनका लागि सम्बन्धित पक्षले सन्तानको लागि करोड तिर्दा कोख भाडामा लगाउने आमाले जम्माजम्मी ६ लाख पाउने गरेको कुरा केही दिनअघि प्रसारित एक टेलिभिजन कार्यक्रममार्फत जानकारीमा आयो । कुनै पनि अपराध खुला रुपमा हुन्छ भन्नु मूर्खता हुन जान्छ । कानुनी मान्यता पाएपछि नेपालका अस्पतालहरु व्यापारिक केन्द्र बन्न जानेछन् र गरिब परिवारका नेपाली आमाहरुको कोख पनि भित्रभित्रै बिक्रीमा जानेछ ।

यस्तो अवस्थामा कानुनतः स्वेच्छाले कोख बिक्री गर्नु आमाहरुको शरीरमाथिको अधिकार हुन जानेछ । लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित ऐनअनुसार वैवाहिक बलात्कारको कानुन बनिसकेको अवस्थाले महिलाको शरीरमाथिको अधिकारलाई स्थापित गरेको बुझ्न सकिन्छ भने बाध्यात्मक रुपमा झनै बढी आमाका कोखहरु बिक्री हुनेछन् । एकातिर नेपालजस्तो गरिब देशका आमाहरु अभाव र गरिबीका कारण कोख बेच्न तयार हुनेछन् भने अर्कोतिर लोभीपापी लोग्नेहरु पैसाको लालचमा आफ्नै श्रीमतीलाई अर्काको सन्तान जन्माउन बाध्य पार्नेछन् ।

हाम्रो समाज त्यही समाज हो, जहाँ पैसाका लागि श्रीमतीलाई बम्बईको कोठीमा पु¥याएका उदाहरण छन्, खाडी र कुवेतमा कमाउन भनी पठाएर चरम यौनशोषण र घरेलु हिंसामा परेका उदाहरण छन् ।

यस्तो अवस्थामा नेपालका अस्पतालहरुलाई दिन लागिएको सरोगेसी सेवाको अनुमति र यससम्बन्धी नियामक निर्देशिकाको बारेमा राज्यले गम्भीर भएर सोच्नैपर्छ । यसले सिर्जना गर्ने विकृतिका कारण थाइल्यान्ड र भारतमा जस्तै यसलाई बन्द गर्न र यसको औचित्यमाथि बहस गरिनुपर्छ । कानुन बनाउनै पर्ने भए विदेशी (दुई पक्ष) का लागिमात्र लागू हुनेगरी कडा कानुन बन्नुपर्छ, जसमा नेपाली आमाका कोखहरुको प्रयोगमा कडा प्रतिबन्ध लगाउनुपर्छ र सेवा पूरै पारदर्शी बन्नुपर्छ ।

गरिबीकै कुरा गर्नुपर्दा नेपालमा भाडाका सन्तान जन्माउने केही महिलासँग गरेको कुराकानी सुन्दा उनीहरुलाई लोग्नेले नै पैसाका लागि भाडाका सन्तान जन्माउन बाध्य पारेको देखियो ।

यो अवस्था भोलि नेपाली महिलाहरुको हकमा ठूलो चुनौतीका रुपमा नआउला भन्न सकिँदैन । अतः सेवाको नाममा महिलामाथि हुने शोषणको यो पाटोतर्फ सरोकारवालाहरुको ध्यान पनि समयमै पुग्नु आवश्यक छ । यसका साथै, भोलि भाडामा कोख बिक्रीलाई पनि महिला अधिकार तथा शरीरमाथिको परिभाषाभित्र नपारियोेस् ।

गरिबी, अभाव र पैसाको कारण मानिस जे गर्न पनि तयार हुन्छ । गरिबीकै कारण नेपाली आमाहरु अर्काको भ्रूण गर्भमा हुर्काई अर्काको सन्तानलाई जन्म दिन तयार हुनुलाई सेवा नभनेर बिडम्वना भन्दा फरक पर्दैन त ?

चितवन पोष्टबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah