सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी बनाएपछि अर्का डिआइजी नवराज सिलवाल आफुले आइजी बन्नुपर्ने माग गर्दै रिट दायर गर्न सर्वोच्च अदालत पुगे । नभन्दै सर्वोच्च अदालतले पनि सिलवालको रिट सदर गर्दै जयबहादुर चन्दलाई आइजी बनाउने सरकारको निर्णय बदर गर्यो । प्रहरी नियमावलीमा डिआइजीमध्येबाट सरकारको योग्य देखेको जुनसुकै व्याक्तिलाई पनि आइजीपी बनाउन सक्ने उल्लेख भएपनि सर्वोच्चले सरकारको निर्णय उल्टायो ।
सर्वोच्चले कार्यसम्पादन मुल्याङ्कनमा नवराज सिलवाल अगाडी रहेको निष्कर्स निकाल्दै सिलवाललाई आइजीपी बनाउन आदेश दिएपनि सरकारले कासमुमा प्रकाश अर्याल सबैभन्दा अगाडी रहेको भन्दै प्रकाश अर्याललाई आइजीपी बनायो । यसबिचमा डिआइजी नवराज सिलवाल फेरि अदालत गए । तर सरकारले डिआइजी नवराज सिलवालले सरकारी कागज (कासमु फाइल)किर्ते गरेर सर्वोच्च बुझाएको भन्दै सिलवालमाथी अनुसन्धान गर्दै दोषी ठहर गर्यो । तर सर्वोच्चले सरकारको कार्यकारी अधिकारी फेरि मिच्न खोजेको र किर्ते फाइल बुझाउने नवराज सिलवाललाई बचाउन खोजेको भन्दै काँग्रेस–माओवादी गठबन्धनले ९ ओटा आरोप लगाउँदै प्रधान न्यायाधिश शुसिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे । यसबिचमा नेपालको राजनीतिमा नेपाल प्रहरीमा चर्चाको केन्द्रमा छ । हाल सरकारले आइजी बनाएका तर सर्वोच्चले खारेज गरिदिएका जयबहादुर चन्द के गर्दैछन् त ?
हिजोआज के गर्दै हुनुहुन्छ,हाजीर कता लागाउँदै हुनुहुन्छ ?
– हिजोआज अलि फुर्सदिलो जस्तो भएको छु । सरकारले कुनै जिम्मेवारी दिएको छैन । घरमा अध्ययन गर्ने,साथीभाईसंग भेटघाट गर्ने यस्तै–यस्तै छ । हाजीर गृह मन्त्रालयमा लगाउदै आएको छु ।
तपाईलाई अहिले सरकारले कुनै जिम्मेवारी दिएको छैन,यसबारे सरकारसंग तपाईको कुराकानी भएको छ कि छैन ? –
कुराकानी भइरहेको छ । मलाई लाग्छ सरकारले मेरो विषयमा उपयुत्त निर्णय केहिदिनमै गर्ला ।
निर्वाचनअघि नै तपाईको बारेमा निर्णय हुन्छ कि पछि ?
– निर्वाचनअघि नै मलाई जिम्मेवारी दिन्छ भन्ने सुनेको छु । सुुरक्षा निकायजस्तो संमवेदनशिल विषयका बारेमा सरकारले निर्वाचन आयोगसंग स्वीकृती मागेमा आयोगले अमुमति दिन्छ ।
कतिपयले तपाईले राजीनामा दिनुहुन्छ भन्ने कुरा पनि गरिरहेका छन नी ? –हैन मैले किन राजीनामा दिने ? राजीनामा दिने प्रश्न नै उठ्दैन । म नैतिक रुपमा पतन,अभियोग लागेको कुनै अपराध गरेको मान्छे हो र फोर्स छोड्नलाई ? म डिमोसन भएको पनि होइन । यो त सरकारले मलाई प्रदान गरेको जिम्मेवारी खोसीएको हो । यसमा म दुःखी हुनुपर्ने कुरा छैन ।
तपाईले प्रहरीकै विषयमा लिएर यत्रो विवाद आउला सोच्नुभएको थियो ?
– मैले सोचको पनि थिइन र मैले सोच्ने कुरा पनि होइन । तर यो घटना इतिहासमा हरेक मानिसले सम्झने,विश्लेषण गर्ने र अुनमान लगाउने नेपाल कसरी चलिरहेको छ भन्ने एउटा दृष्टान्त पनि हो ।
तपाईलाई शेरबहादुर देउवाको नजिकको नवराज सिलवाललाई केपी ओली नजिकको र अरु–अरुको नाम पनि जोडियो नी ? यसलाई कसरी लिनुहुन्छ ?
–हेनुस् हाम्रो जस्तो मुलुकमा यो कुनै अस्वभाविक कुरा होइन । समाजमा कसैको कसैसंग निकटता वा मित्रता हुनुलाई अन्यथा पनि लिन हुँदैन । स्वभाविक रुपमा मानिसहरुको चाहना,धारणा मिल्न जाने मानवीय गुण नै हो । यो संसारभरीकै चलन पनि हो । तर कसैसंग नजिक भएकै कारणले नियोजीत रुपमा पुर्वाग्रही बन्नु गलत हो ।
सर्वोच्च अदालतले तपाईको आइजी पद नै खोस्यो,सर्वोच्चप्रति तपाईको गुनासो होला नी ?
–सम्मानित सर्वोच्च अदालतका विषयमा एउटा प्रहरी कर्मचारीको हैसियतले म केही पनि टिप्पणी गर्न चाहान्न । प
छिल्लो समयमा तपाई र डिआइजी नजवराज सिलवालको सम्बन्ध कस्तो छ ?
–खासै पीडादायी पनि छैन र हार्दिक पनि छैन । हिजोआज त भेटघाट नै हुन छाड्यो ।
तपाईलाई सरकारले आइजी बनाउने निर्णय गरेपछि सिलवाल अदालत गए,त्यसबिचमा तपाई दुई जनाको भेट भयो कि भएन ? भेट भएको भए के कुरा भयो ?
कुराकानी भएको छ । विभिन्न हिसाबले कुराकानी भएका छन् । ती विषयहरु सार्वजनिक नगरौं ।
तपाईले प्रहरी सेवाबाट अवकाश पाएपछि धेरै रहस्य खोल्छु भन्नुभएको छ ? के छ त्यस्तो रहस्य ?
– खोल्छु,पक्कै पनि । म एउटा पुस्तक लेख्छु । अहिले मेरो दायीत्वले गर्दा मैले बोल्न मिल्दैन । भोली त सबै खोल्छु । प्रहरी र देशभित्र हुने पाखण्ड,षड्यन्त्र मैले देखेको छु,भोगेको छु त्यो म लेख्छु र आम नेपाली जनतालाई बताउनुपर्छ ।
तपाईको मनमा अहिले कस्तोखालको पीडा छ ?
–मैले भन्ने गरेको छु । समय सबैभन्दा क्रुर हुन्छ भनेर गितामा लेखिएको छ । म गिता थोरै अध्ययन गरेको भएर यति भन्छु कि अहिले समय मेरो विपक्षमा छ । समय नै मप्रति क्रुर भएपनि म कुनै व्याक्ति वा संस्थालाई दोष लगाउने पक्षमा छैन ।
पछिल्लो समय ‘चेन अफ कमाण्ड’ मा चल्ने संगठन भन्ने एकअर्काका विरुद्ध प्रहरी अधिकारी नै मिडियाबाजी गर्ने खेलमा लागेको आरोप पनि छ नी ?
– त्यो समय आएपछि नेपाली जनताले बुझ्नेछन् । मिडियामा हिरो बन्न खोज्ने,मिडियामा कपोलकल्पीत कुराहरु लेख्न लगाउने,जोकोही भएपनि एकदिन सवै सार्वजनिक हुन्छन् । को सहि को गलत इतिहासले मुल्याङ्कन पक्कै गर्नेछ ।
हालका आइजीपी प्रकाश अर्याल र तपाईको दोस्ती गहिरो छ भनिन्छ नी ?
– हामी एकै व्याजमेट हौं,मिल्ने साथी पनि हौं । म अहिले जिम्मेवारीमा नभएपनि मैले पाएका सुचनाहरु सेयर गर्छु । मेरो प्रकाशप्रति पुर्ण सम्मान छ ।
न्यूजसेवाका लागि केशबराज जोशीले जयबहादुर चन्दसंग गरेको कुराकानी साभार गरिएको हो ।



