काठमाडौं/ प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ हेटौंडा राजधानी राख्ने प्रस्ताव पारित गरेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेका हुन्।
दुईतिहाइ मतरहेको सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेको हो। हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको छ। विपक्षमा तीन मत आएको थियो।
काभ्रेको धुलिखेल राजधानी राख्नुपर्ने पक्षमा तीन मत आएको हो।साझा पार्टी र विवेकशील नेपाली दलले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्ताव गरेको थियो। यो प्रस्तावलाई प्रदेशसभा बैठकले अस्वीकृत गरिदिएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए।
नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलले राजधानी हेटौंडा तथा नाम बागमती राख्ने निर्णय गरेका थिए।प्रदेशको नाम बागमती राख्न प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दल सहमत छन्।










