
विष्णुप्रसाद पोखरेल
दमक । लामो समयदेखि प्रदेश नं. १ को नामकरण हुन नसकेको अवस्थामा पछिल्लो समयमा प्रदेश नं. ३ ले बाग्मती प्रदेशको नामकरण गरेपछि यहाँ पनि बहस शुरु भएको छ । सगरमाथा र कोशीको बिषयमा आन्तरिक रुपमा बहस चल्दै आएको नेकपाका एक प्रदेश नेताले बताउनु भएको छ । सगरमाथाको पहिचान विश्वब्यापी रहेको र नेपालको नै गौरव रहेकाले प्रदेशसंग यसलाइ नगाँस्ने र कोशी प्रदेश नाममा सहमति हुनसक्ने ती नेताले जनाउनु भयो ।
झापामा एकको एक विद्वत सभामा प्राज्ञ तथा इतिहासविद डा. जगमान गुरुङले कोशी नदीको नाममात्र नभएर यस क्षेत्रको सभ्यता भएको भन्दै प्रदेशको नामकरण गर्दा कोशी राख्दा यहाँका आदिबासी जनजातीको शिर ठाडो हुने बताउनु भएको थियो । कोशी खोलाको मात्र नाम होइन ईतिहास हेर्ने हो भने यो अहिले आदिबासी तथा जनजातीले उठाउदै आएको पहिचानयुक्त सर्वसम्मत नाम हो, उहाँको भनाइ थियो ।
सगरमाथा, कोशी, कञ्चनजङ्घा, मेची, किरात, लिम्बुवान, पुर्वी प्रदेश लगायतका नामहरुको बिषयमा बहस हुँदै आएको छ । कर्णाली र बाग्मती यहाँका प्राचिन नदीहरुको नाममा प्रदेश नामकरण भएपछि प्रदेश नं. १ को कोशी प्रदेश नामकरणका लागि बलियो सम्भावाना बढेको पाईन्छ । नेकपाले अनौपचारिक छलफलहरुमा यस बिषयमा सहमति नजिक पुग्न लागेको श्रोतको भनाइ रहेको छ ।
२०७४ फागुन २ गते प्रदेश ६ ले सर्वसम्मत रूपमा आफ्नो प्रदेशको नाम ‘कर्णाली’ राखेको थियो । यसपछि प्रदेश ४ ले २०७५ साल असार २३ आफ्नो नाम गण्डकी प्रदेश राखेको थियो । दुइवटै प्रदेशको नामकरण यहाँका प्राचिन नदीहरुबाट भएकाले प्रदेश नं. १ को नामकरण पनि यसको प्रभावबाट मुक्त नहुने अड्कलबाजि शुरु भएको छ ।
संविधानको धारा २८८ को उपधारा २ ले ‘प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भन्ने उल्लेख भएकाले नेकपाले नामको बिषयमा जे सहमति जुटाउछ त्यहि नै हुने प्रवल सम्भावाना रहेको छ । नेकपाका एक प्रदेश सदस्यका अनुसार पार्टीभित्र अनौपचारिक रुपमा कुराकानी भएपनि औपचारिक रुपमा नामको बिषयमा छलफल हुन सकेको छैन ।
सरकारको तयारी
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीका अनुसार माघको तेश्रो सातादेखि शुरु हुने प्रदेशको संसद अधिवेसनले नामको टुंगो लगाउने तयारी भएको छ । शुरुमा नै टेवल गर्ने की अन्तिम समयमा गर्ने भन्ने अन्योल रहेको छ । हामी सकेसम्म सबैको सहमतिमा नै नामको बिषयमा निर्णयहोस भन्ने चाहान्छौ र यहि कारणले गर्दा केहि ढिला भएको हो, कार्कीले भन्नुभयो ।
नेकपाका नेता समेत रहनु भएका मन्त्रि कार्कीले कोशी प्रदेश नामकरणको बिषयमा पार्टी भित्र आन्तरिक रुपमा छलफल र सहमति भएको भन्ने बारेमा भने उहाँले केहि बताउन चाहानु भएन । सकेसम्म यो बिषय यहि माघ महिनाभित्रमा टुंगो लाग्ने छ र सर्वस्वीकार्य नाम नै आउनेछ, उहाँले भन्नुभयो ।
https://youtu.be/W1977LXS2zU