सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्।
एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ।
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको 'अन्तरआबद्धता निर्देशिका- २०७६' चैत २० गतेदेखि लागु हुनेछ।
दूरसञ्चार क्षेत्रको प्राविधिक भाषामा एउटा कम्पनीको सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा हुने कल स्थापित गराउने कार्यलाई अन्तरआबद्धता भनिन्छ।
उक्त निर्देशिका अनुसार मोबाइलबाट मोबाइलमा र फिक्स्ड लाइनबाट मोबाइलमा गरिने कलका लागि पहिले तोकिएको भन्दा निकै कम अन्तरआबद्धता दर निर्धारण गरिएको छ।
चैत २० सम्म यस्तो कलको दर प्रतिमिनेट ५४ पैसा रहने छ। त्यसपछि एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्नेछ।
यो निर्देशिका लागु भएपछि प्रिपेडको प्रतिमिनेट एक रुपैयाँ छ पैसा र पोस्टपेडको ६६ पैसा प्रतिमिनेट शुल्क पर्ने अधिकारीहरू बताउँछन्।
एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा लागिरहेकोमा शुल्क घटेपछि चाहिँ दुई रुपैयाँ १० पैसा मात्र लाग्ने छ। बिबिसि नेपाली बाट साभार










