जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मादक पदार्थ सेवन गर्नेबाट १० लाख ५३ हजार राजश्व संकलन गरेको छ ।चालू आर्थिक बर्षको साउनदेखि बैशाख १८गतेसम्म मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कार्वाही गर्दै प्रहरीले उक्त रकम राजश्व संकलन गरेको हो । प्रहरीले १० महिनाको अवधिमा १ हजार ५३ वटा सवारी साधनलाई कार्वाही गरेको छ । कार्वाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
प्रहरीले ८ सय ४८ वटा मोटरसाइकललाई कार्वाही गर्दा ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ । मोटरसाइकलपछि कार, जीप र मेन चालक सबैभन्दा बढी कार्वाहीमा परेका छन् । ८५ वटा कार, जीप र भेन कार्वाहीमा पर्दा ट्राफिक प्रहरीले ८५ हजार रुपैयाँ राजश्व उठाएको छ ।
त्यस्तै ४३ वटा ट्याक्टर कार्वाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी दुर्घटनाको कारण मादक पदार्थ सेवन भएको जनाउँदै ट्राफिक प्रहरीले कार्वाहीलाई तीब्रता दिएको हो । साउनदेखि बैशाख १८ गतेसम्मको समय अवधिमा झापाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरु कार्वाहीमा परेका हुन् ।


