नेपालको तर्फबाट विश्वकै होचा व्यक्तिको किर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ। श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको खगेन्द्रको शुक्रबार दिउँसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो।
स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। मणिपाल अस्पतालको सघन उपचारकक्ष आइसियुमा भर्ना गरिएको मगरलाई शुक्रबार दिउसो ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए।
खगेन्द्रको मृत्यु कुन रोगको कारण मृत्यु भएको हो भन्ने बारेमा केही जानकारी दिइएको छैन । उनलाई स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता बिभिन्न समस्याले विगतदेखि नै गाल्दै आएको थियो ।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिएको थियो ।










