
दमक/ झापा गौरादह २ का सवनलाल ताजपुरियाले झण्डै एक बर्ष अघि पैसा कमाउन विदेश जाने योजना बनाएर म्यानपावर धाउनु शुरु गर्नुभयो । गौरादहबाट विर्तामोडका विभिन्न म्यानपावर कम्पनीहरुमा धाउने क्रममा भद्रपुर ७ मेघाटोलका सपन भनिने खकन सरकार नाम गरेका व्यक्तिले ताजपुरियासंग माल्दिभ्स लैजाने भनेर पटक पटक गरि ३ लाख रुपैंयाँ लिए । ताजपुरियालाई सिंगापुर हुँदै माल्दिभ्स लगिने भनेर काठमाडौं बोलाइयो ।
फोटोमा ठगिएका सवनलाल ताजपुरिया
पोहोर सालको शिवरात्री पर्वको अघिल्लो दिन थियो । काठमाडौं पुगेपछि दलालले होटलमा राखे । शिवरात्रीको दिन उडान हुने भनियो । हातमा भिजा र जहाज टिकट समेत भएपछि ताजपुरियाले माल्दिभ्स पुगेर पैसा कमाउने ठूलो सपना देख्नु स्वभाविक थियो । तर मध्यरातमा एक्कासी दलालको गिरोहका एक जना सदस्यले नाम नबताई आफू तिनै सरकारको साथी भएको र भोली एयरपोर्ट नजानु , भिजा र टिकट अलि मिलेको छैन एक दुई दिनमा हामी मिलाएर फोन गछौैं भनेपछि छाँगाबाट खसे झैं भयो ताजपुरियालाई । रातभर निन्द्रा परेन । परोस पनि कसरी साहुसंग सयकडा ४/५ रुपैयाँका दरले ३ लाख रुपैयाँ ऋण काढेर बुझाउनु भएको थियो दलाललाई । भोलीपल्टदेखि उहाँले आफूलाई काठमाडौं सम्म लैजाने भद्रपुरका ति दलाल सरकार थरका व्यक्तिलाई फोन गर्नुभयो ।
बारम्बारको सम्पर्कपछि बल्ल तल्ल भेट त भयो तर त्यो भेटमा ताजपुरियासंग रहेको मोवाइलनै नियन्त्रणमा लिई खोसेर सीम कार्ड ड्यामेज गरियो । लगभग एक घण्टा दलालहरुको कब्जामा काठमाडौंको तिलगंगास्थित एक होटलमा पर्नुभयो पीडित ताजपुरिया । केही बेरपछि दलालहरुको गिरोहनै त्यहाँबाट फरार भयो ।
ताजपुरिया दिन दिनै न्यायका लागि प्रहरी गुहार्दै कहिले टेकु त कहिले महाराजगञ्ज पुग्नु भयो । प्रहरीले झापाको मान्छे हुनुहुँदो रहेछ उतै गएर थप प्रकृया चाल्नु भनेपछि विदेशको सपनालाई त्यागेर झापा फर्किनु भयो ।
झापा आएपछि पीडित ताजपुरियालाई साहुको ऋण फिर्ता गर्ने चर्को दबाब आयो । पैसा खाने दलाल गायब भएकाले साहुलाई थुम्थुमाउँदै दलालबाट पैसा फिर्ता पाउने आशमा कहिले दलालको घर त कहिले उनका साथीको घर , कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय हुँदै श्रम तथा रोजगार कार्यलय विराटनगर सम्म पुग्नु भयो । त्यहाँ ताजपुरीयाले कार्यालयका प्रमुख प्रेम सञ्जेलको राम्रो साथ पाउनु भयो । कार्यालयले उहाँको उजुरीमाथि सुनुवाई गर्दै बैदेशिक रोजगारका सिलसिलामा ठगी भएको यकिन गरेर दलाल सरकारलाई पक्राउ गर्न प्रहरी कार्यालयहरुमा पत्राचार गर्यो । ठुलो आशा जाग्यो पीडित ताजपुरीयालाई । लामो समयपछि ठगी गर्ने दलाल ति सरकारलाई लामो कसरतपछि विराटनगरमा पक्राउ गरियो । प्रहरीले एक रात राखेर श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझायो । कार्यालयमा दलाल सरकारलाई उकास्न उनका सहयोगी टेकनाथ ढकालका छोरा केशव ढकाल पुगे ।
फोटो :नक्कली भिसा
झापाको शिवसताक्षी नगरपालिका वडा नं १० घर भएका आफूलाई विर्तामोड हरियाली अभियान नामक संस्थाको सचिव बताउने ३० बर्षिय केशव ढकाल ति दलाल सरकार थरका व्यक्तिको सहयोगी साथी बनेर उनको जिम्मा बुझ्न आएका रहेछन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरमा पीडित ताजपुरिया, पीडक खकन सरकारका बीचमा दुवै पक्षबीच प्रमुख सञ्जेलकै उपस्थितीमा छलफल भई ठगी गर्ने सरकारले पीडित ताजपुरियासंग लिएको ३ लाख रुपैयाँ ७ दिन भित्र तिर्नुपर्ने निष्कर्ष निकालियो । सो रकम ठगी गर्ने सरकारले नतिरी भागे वा बदनियत गरे ढकालले तिर्ने र सम्पूर्ण जिम्मेवारी लिनेमा मञ्जुर भई ढकालले सहिछाप गरेर ठगी गर्ने सरकारलाई ढकालले जिम्मा लिएका थिए ।
१८ कार्तिक २०७६ मा त्यस्तो जिम्मेवारी लिए लगत्तै श्रम तथा रोजगार कार्यालय र पीडितलाई समेत चुनौती दिदैं ढकालले उच्च अदालतमा रिट दायर गरेर शक्तिको पहुँच देखाए । अदालतबाट उनलाई पक्राउ गर्नुपर्ने कारण माग भयो । पीडित ताजपुरियाले साहुको ऋणको बोझले आफ्नो पैसा उकास्न लड्नु पर्ने कानुनी लडाँई लड्ने थप पैसा जुटाउन सक्ने अवस्थामा हुने कुरै भएन । अहिले पैसा खाइदिने खकन सरकारलाई ढकालले जिम्मा लिएर गायब गरिदिए । ढकालले अदालतमा पहुँच देखाएपछि गरिबका लागि न्याय पाउने ठाउँ पनि छ र ? भन्ने मानस्थितीमा पुग्नु भएको छ । साहुको ऋणले आफ्नो घरबारी हिंडेको छ ।
कतैबाट न्याय पाउन नसकेको भन्दै पीडित ताजपुरिया यतिबेला सञ्चार क्षेत्रलाई गुहारिरहनु भएको छ ।
https://youtu.be/5DSDmoVhDhg