कुरा आदिम समयको हो । साधु तुकाराम आफ्नो आश्रममा बसिरहेका थिए । उनका एकजना रिसाहा चेला साधुको नजिक आए र भने, ‘गुरुजी, तपाई कसरी आफ्नो व्यवहार यति हार्दिकतापूर्ण बनाउन सक्नुहुन्छ ?

न तपाईं कोहीसँग रिसाउनु हुन्छ न अरुको बारेमा कुरा काटेर समय बिताउनुहुन्छ ? कृपया तपाईंको यस्तो असल व्यवहारको रहस्य बताउनुहोस् ।’

साधुले भने, ‘मलाई मेरो आफ्नै रहस्य त थाहा छैन, तर म तिम्रो रहस्य भने जान्दछु ।’

‘मेरो रहस्य ! त्यो के हो गुरुजी ?’ शिष्यले आश्चर्य मान्दै सोधे । ‘तिमी आउँदो एकहप्ता भित्र मर्दैछौ,’ साधु तुकाराम दुःखी हुँदै बोले ।

अरु कसैले भनेको भए त शिष्यले यो चेतावनीलाई हाँसीमजाकमा उडाउन सक्थ्यो होला तर स्वयं साधु तुकारामको मुखबाट यस्तो कुरा निस्किएपछि कसरी नपत्याउनु ? शिष्य उदास भयो र गुरुको आशिर्वाद लिएर घर फर्कियो ।

त्यो दिनदेखि शिष्यको स्वभावमा ठूलो परिवर्तन आयो । ऊ सबैसँग प्रेमपूर्वक बोल्न थाल्यो र कसैसँग रिसाएन । आफ्नो धेरै समय पूजा र ध्यानमा लगाउन थाल्यो । आफूले यसअघि दुर्व्यवहार गरेका मानिसलाई भेट्दै माफी माग्न थाल्यो । हेर्दाहेर्दै साधुले घोषणा गरेको एक हप्ता पूरा हुने समय नजिक आयो ।

शिष्यले अन्तिम समयमा साधुको दर्शन गरेर आशिर्वाद लिने सोच बनायो र साधुलाई भेटेर भन्यो, ‘गुरुजी, मेरो समय पूरा हुनै लाग्यो, कृपया मलाई आशिर्वाद दिनुहोस् ।’ साधुले भने, ‘मेरो आशिर्वाद सधैं तिम्रै साथमा छ पुत्र ! ठिक छ, तिमीले यो हप्ता कसरी बितायौ ? मलाई भन त । तिमी पहिलाजस्तै मानिसहरुसँग रिसायौ कि रिसाएनौ ? उनीहरुलाई गाली गर्‍यौ कि गरेनौं ?’

शिष्यले भने, ‘गरिनँ । विल्कुल गरिनँ । मसँग बाँच्नको लागि केवल सात दिन बाँकी थियो । म यस्ता बेकारका कुरामा समय कसरी खर्च गर्न सक्थेँ र ? म त सबैलाई प्रेमपूर्वक भेटेँ र ज-जसको दिल दुखाएको थिएँ, उनीहरुसँग क्षमा मागेँ ।’

साधु मुस्कुराए र भने, ‘बस, यो नै मेरो राम्रो व्यवहारको रहस्य हो । म जान्दछु कि म जहिले पनि मर्न सक्छु । यसैको लागि सबैलाई प्रेमपूर्वक व्यवहार गर्दछु र यही नै मेरो राम्रो व्यवहारको रहस्य हो ।’

(यो प्रसंगलाई सामाजिक सञ्जालबाट लिइएको हो, यसको बारेमा टिप्पणी र प्रतिवाद आवश्यक छैन, यो मात्र सकरात्मक सन्देशको लागि प्रकाशित गरिएको हो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय