
काठमाडौं । आज श्रीपञ्चमी पर्व । सरस्वती मन्दिर, विद्यालय ,शैक्षिक प्रतिष्ठान तथा साधना केन्द्रहरुमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा आराधना गरिंदैछ । विद्यार्जन,गायन,भाषणकला, कलाकारिता संगीतलगायत क्षेत्रका साधकहरुले भक्तिभावले देवी सरस्वतीको निष्ठापूर्वक पूजा गरिरहेका छन् ।
माघ शुक्लपक्षको पञ्चमी तिथिलाई विद्याकी देवी सरस्वतीको जन्म दिन मानेर उनको पूजाआजा गर्ने चलन छ । देवी सरस्वतीलाई वाणीकी देवी वाग्देवी वा वागेश्वरी, कलाकी देवी भारती, शब्द र संगीतकी देवी शारदा भनेर पनि सम्बोधन गरिन्छ । सरस्वतीको जन्मदिनलाई सरस्वती पूजा, विद्याश्रीले सम्पन्न दिन मानेर श्रीपञ्चमी, यसै दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिने हुँदा वसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।
नीरक्षीर छुट्टयाउन सक्ने पक्षी हाँसमा चढेकी सेतो वस्त्र पहिरेकी माता सरस्वती हातमा वीणा, पुस्तक स्फटिकको अक्षमाला र कमल लिएर अभयमुद्रामा स्थित भएको चित्रण गरिएको छ । पुस्तक, कलम, कुची बाजागाजामा पनि सरस्वतीको वास भएको मानेर पूजाआजा गर्ने चलन छ ।
श्रीपञ्चमीका दिन बिहानै उठेर स्नान गरी फूलप्रसाद लिएर नजिकैको सरस्वतीमन्दिरमा गएर माता शारदाको दर्शन र पूजाआजा गर्ने अनि घरमा आई आफ्ना पुस्तककापी कलमको पनि पूजा गर्ने चलन । स साना बालबालिकालाई यसै दिन अक्षरआरम्भ गराइन्छ भने ज्ञान र कलाका साधकहरुले पनि यसै दिनदेखि साधनाको थालनी गर्ने चलन छ ।
काठमाडौको स्वयम्भूस्थित सरस्वतीमन्दिर, ललितपुरको लेलेमा रहेको नीलसरस्वती मन्दिर, भक्तपुरको वागेश्वरी मन्दिर तथा नेपालगञ्जस्थित वागेश्वरीमन्दिर लगायतका देशैभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ ।