काठमाडौं, २४ वैशाख । एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा ओलीले सर्वोच्च अदालतको फैसलापछि संसदीय सर्वोच्चताका नाममा प्रतिशोध साँध्ने गरी अघि बढे परिणाम गम्भीर हुने बताए ।
अाजको नयाँ पत्रिकामा खबर छ– अदालतको आदेशलाई सम्मान गर्न उनले प्रधानमन्त्रीलाई सुझाएका छन् ।
‘संविधानअनुसार महाअभियोग दर्ता भए पनि कानुनी विषय बनेपछि सर्वोच्चले आदेश गरेको हो । संसद् कि संविधानको सर्वोच्चताको प्रश्न आएपछि अब संसद्ले संविधान संशोधन गर्ने कुरा हुन सक्छ,’ ओलीलाई उद्धृत गर्दै महासचिव ईश्वर पोखरेलले भने, ‘अध्यक्षले प्रस्ताव फिर्ता लिन बुझ्ने भाषामा नम्रतापूर्वक कुरा राख्नुभएको छ, संविधानको सर्वोच्चतालाई संसद्ले पनि ख्याल गर्नुपर्छ, अन्यथा फेरि प्रतिशोध साँध्ने हिसाबले अघि बढ्दा परिणाम झन् गम्भीर हुन्छ ।’



