
काठमाण्डौ – चीनमा कोरोना भाइरसबाट कारण ज्यान गुमाउनेको संख्या २ सय ५९ पुगेको छ । शनिबार बिहान सम्ममा ज्यान गुमाउनेको संख्या २ सय ५९ पुगेको र ज्यान गुमाउने सबै चीनका नागरिक रहेको बीबीसीले जनाएको छ ।
चीनमा मात्रै ११ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ । बीबीसीका अनुसार चीनमा एकैदिन दुई हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि पर्याप्त पहल भए पनि रोकिनुको सट्टा फैलिरहेको पनि बताएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चीनका सबै प्रान्तमा फैलिसकेको छ भने फैलन दर तीव्र बन्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नै विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरिसकेको छ ।
चीन बाहिरका २२ वटा देशमा गरेर एक सयभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर भेटिएका संक्रमितमध्ये कसैको पनि ज्यान भने गएको छैन ।
चीनले झण्डै ११ हजार मानिसमा संक्रमण भएको बताए पनि हङकङको एउटा विश्वविद्यालयले गरेको अध्ययनले वुहानमा मात्रै झन्डै ७५ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने देखाएको छ ।
यसैबीच अमेरिकाले पनि कोरोना भाइरसको फैलावटकोबारेमा सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गर्दै गएको दुई हप्ता चीन भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई प्रवेश अस्वीकार गर्ने बताएको बीबीसीले जनाएको छ ।