मितिः २०७४/१/२४
श्री आदरणिय काका
पुष्प कमल दाहाल ‘प्रचण्ड’
मोबाइलमा कल गर्ने र फेसबुक म्यासेन्जरमा म्यासेज लेख्ने बानीले गर्दा चिठी लेख्न बिर्सिएछुँ । माफ गर्नुहोला । कक्षा पाँचमा बुबालाई चिठी लेख्न सिके देखि आज सम्म चिठी लेख्नै परेको छैन । नपरोस् पनि ।
प्रचण्ड काका !
पछिल्लो राजनीति घटनाले मन बिझाईरहेको होला । त्यसमै यो भतिजले केही सल्लाह दिदै तपाईको रोहीरहेको आत्मामा शान्तीको महलम लागाउन खोज्दैछ । हुन त तपाईलाई सल्लाह/सुझाब‚ अर्ति/उपदेश र कुकुरलाई घिउ पच्दैन‚ थाहा छ । तपाईलाई अर्ति उपदेश र सल्लाहका लागि कि ठुल्दाई हुनु पर्यो कि त शेर बहादुर ।
काका
लोकतान्त्रिक राजनीति तपाईले सोचे र पढे जस्तो छैन । ठिक दुई सय वर्ष पहिले ५ मे मा जन्मिएका कार्ल माक्सले प्रतिपादन गरेको सिद्धान्त र ठिक एक सय वर्ष अगाडी लेलिनले गरेको अक्टोबर क्रान्ती जस्तो छैन लोकतान्त्रिक अभ्यास । अध्यक्ष नै सर्वै सर्वा हुने कम्यूनिष्ट पार्टी चलाए जस्तो हुदैन रहेछ लोकतान्त्रिक अभ्यासमा सरकारको नेतृत्व गर्न । तपाईले शसस्त्र द्वन्द्वमा देश लैजादा तपाईलाई साथ दिनेहरु अहिले ६ टुक्रा भइसकेका छन् । यसको धेरै अर्थ लाग्न सक्छ । एउटा अर्थ लोकतन्त्रमा पार्टी फुट्नु र जुट्नु समान्य प्रकृया हुन् । अर्को तपाइको नेतृत्व शैली वा कार्यशैलीमा बिमति । कम्यूनिष्ट पार्टीहरुमा फरक मत राख्नेहरुलाई ठुलै कार्वाही गर्छ पार्टीले । सामान्यतया दोश्रो बरियताको नेताले ‘हदै’ सम्मको सजाय पाउदा रहेछन् । लोकतान्त्रिक प्रकृयामा तपाई आइसक्नु भएकोले हुन सक्छ तपाईले त्यस्तो कार्वाही गर्न सक्नु भएन । यदि यूद्धकालमा भएको भए धेरैलाई तपाईहरुले भने जस्तो श्रम शिबिरमा राख्नु हुन्थ्यो वा …….। यसबाट पनि थाहा हुन्छ तपाईले पार्टी पनि चलाउन सक्नु भएन । पार्टी चलाउन नसकिरहनु भएको तपाईले देश चलाउने दुई पटक अवसर पाउनु भयो । दोश्रो पटकको अवसरमा तपाईका इष्टदेव शेर बहादुर हुन पुगे । जो नेपाली कंग्रेसका नेता भन्दा पनि एक गुठका नेता मात्र हुन् । त्यो पटक पटकको उनको कार्यशैलीबाट प्रस्ट छ । ठुलै भाग्यले सभापति भएका देउवाले आफ्नो पार्टीलाई मात्र दाउमा राखेनन् तपाईको राजनीति छवी धुमिल बनाइदिए ।
काका
प्रजातन्त्र/लोकतन्त्रमा शक्तिपृथकिकरणको सिद्धान्तको ठुलो महत्व छ । राज्यका तीन अंग कार्यपालिका‚‚ न्यायपालिका र व्यवस्थापिकाबिचमा शक्ति सन्तुलन कायम गरिएको हुन्छ । कुनै एकलाई मात्र शक्तिशाली बनाइएमा अधिनायकत्व बढ्छ । तपाइले सोचे र सुने जस्तो देशको प्रधानमन्त्री कार्यकारी हुन्छ भन्ने बिषयमा दुइमत छैन तर स्वेच्छाचारी हुनलाई रोक्ने सम्यन्त्रहरु चाँही अरु पनि छन् ।
काका
तपाईलाइ यो प्रधान पद फापेन । आफु प्रधान भए पछि अरु प्रधानलाई देख्नै नहुने भयो । पहिले प्रधान सेनापतिसँग जाइलाग्नु भयो अहिले प्रधानन्यायाधिश । फापेन काका फापेन । तपाई पार्टी अध्यक्ष सम्म त ठिकै हो तर देशको कार्यकारी त खै …..देशकै बेइजज्त पो हुन लाग्यो । अनि यो महाअभियोग पनि कति सस्तो बनाइदिएको हो ? जस्लाई पनि लगाइदिने । अनि काका शुशिला कार्कीलाई आजै देखि काममा फर्कनु भन्ने न्यायाधिश चोलेन्त्र शमसेर राणालाई २०६८ फागुन ९ गते बहालवाला सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रस्टाचार मुद्दाको फैसलामा तत्कालीन न्यायाधीश सुशीला कार्कीले एक न्यायिक टिप्पणी लेख्दै गुप्ताको भ्रस्टाचार मुद्दा न्याय सम्पादन कार्यमा विचलन आएको भन्दै पहिले निर्णय भएको बिषयमा प्रश्न उठाएकि थिइन् । तर तिनै चोलेन्द्रले बदलाको भाव नराखी शुशिला कार्कीको निलम्बन फुकुवा गरिदिए । यसबाट पनि प्रष्ट हुन्छ कि बैगुनीलाई गुनले मार्नु पर्छ भन्ने तर तपाइ त बदला तिर लाग्नु भयो । द्वन्द्वकालमा जस्तो । अहिले तपाइहरु भन्दै हुनुहुन्छ अदालतको फैसलाले संसदको सर्वोच्चता हनन् गर्यो भनेर । अनि नि काका बिर्सनु भयो लोकमानलाई तपाईहरुले तह लगाउन नसक्दा तिनै शुशिला र अदालतको सहायता लिनु भएको । त्यसबेला पनि त अदालत र संसद दुवैमा एकै पटक ‘लोकमान बहस’ चलिरहेकै थियो त । कहिलै तपाइको मुखबाट सुनिएन संसदको सर्वोच्चता हनन् भयो भनेर । अहिले चाही हनन् भएछ ?
काका
नीतिहरुको पनि नीति हो रे राजनीति । सबै नीतिहरु राजनीतिको वरिपरि घुमिरहन्छन् सुर्यलाई अरु ग्रहहरुले परिक्रमा गरे जस्तो । तर राजनीति नै धुमिल भयो भने के होला भन्नुस् त । भयो अब छोडिदिनुस् सरकार । यो भतिजको हृदयदेखिको सल्लाह । तपाईहरुको सल्लाह सुन्नमा आए अनुसार देउबाको पालो रे अब । बरु उनैलाई दिनुस् । भो काका अब त सबै मान्छे जान्ने बुझ्ने भए । बरु यो जान्ने बुझ्ने बनाउने श्रेय तपाइलाइ नै जान्छ । तपाईले यहाँ सम्म गर्नु भयो नि ठुलो उपलब्धी पायो देशले । गोरु गाडी चढेर अमेरिका पुगिन्दैन भन्नेहरु‚ गणतन्त्रको कुरा गर्दा नरहरी आचार्य‚ शैलजा आचार्यहरुलाई कार्वाही गर्नेहरु नै आज तपाइका अजेण्डामा आफुलाई परिवर्तनका संवाहक (Change Agent) को रुपमा चिनाएर श्रेय लिन चाहान्छन् । बरु सकिन्छ भने राजनीतिबाटै सन्यास लिनुस् । चितवन तिरै गएर राम्रो र व्यवस्थित गाई फार्म चलाएर बस्नुस् । बरु कहिले काही बुबा आमालाई लिएर तपाईको पौरख हेर्न म पनि आउछु । तपाईसँग कार्यकर्ता पनि धेरै छन् क्यारे । उनिहरुलाई रोजगारी पनि दिनुस् । मागी खाने/धम्क्याइ खाने बानी पनि छुट्छ । गरीखाने बानीको बिकास हुन्छ । गाईको सेवा गर्नु भयो भने त यो लोक र परलोक दुवै सप्रन्छ रे ! हवस्त काका ।
उहि तपाईको भतिज
राज कुमार दाहाल
उदयपुर, हाल दमक



