#

प्रचण्डको खुलासा : गिरिजाप्रसादले ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो

  सवाल नेपाल   २०७६ फाल्गुन १, बिहीबार १२:३८ मा प्रकासित

काठमाडौं, फागुन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले समाजवादका लागि फेरि आन्दोलन हुने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समाजवादका लागि अब हुने आन्दोलन शान्तिपूर्ण रहने पनि प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ता भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।

‘माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ताले नै हो, जनवादी क्रान्ति मौलिकतामा भएको हो, अब समाजवादतिर पनि मौलिकतामै अघि बढ्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले अब बुर्जवा पार्टी नेपालमा नचाहिएको उल्लेख गर्दै कम्युनिष्ट नेता बिग्रने पथमा जान नहुने बताउनु भयो । ‘सरकारमा पुगेपछि वैचारिक स्खलन, सांस्कृतिक स्खलन हुने कार्य सोभियत युनियनमा भयो, पुँजीपतिको हातमा पुग्नु कम्युनिष्ट नेता बिग्रनु हो, हामी त्यो पथमा जान हुँदैन, पतन भइरहेका कम्युनिष्ट हुन नपरोस,’ प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको पनि बताउनु भयो । उहाँले सही विचार लिएकै कारण त्यो सम्भव भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको पनि स्मरण गराउनुभयो । ‘यसले संविधान सभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने थिएन,’ उहाँले भन्नुभयो । राज्य र विद्रोही पक्ष फेरि शान्ति सम्झौतामा आउलान, उनीहरुको सहकार्यबाट मुुलुकमा राजतन्त्र अन्त्य होला भन्ने पनि कुनैबेला असम्भवजस्तै लाग्ने विषय रहेको प्रचण्डले बताउनु भयो । तर सही विचार र सही नेतृत्वले गर्दा नै त्यो सम्भव भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

उहाँले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको भन्दै प्रचण्डले त्यही समझदारीको दायरा फराकिलो हुँदै राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको आधार तयार भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको खुलासा पनि गर्नुभयो ।

‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो, यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने निश्कर्ष पनि उहाँले सुनाउनु भयो । जनता टाइम्स बाट साभार गरिएको

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी