स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबारे बढी हल्ला भइरहेको बताएका छन् । प्रथम पाल्पा महोत्सवको उद्घाटनमा मन्त्री ढकालले यस्तो बताएका हुन् ।
नेपालमा अहिलेसम्म पनि कसैमा कोरोना भाइरस नदेखिएको बताउँदै उनले गलत हल्लाको पछाडि लागेर आतङ्कित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता छ भने ।
मन्त्री ढकालले भने, “चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन, १८ नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सङ्क्रमित भेटिएनन् ।’
‘पाल्पाको समृद्धिको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ पाल्पाको दमकडामा आजदेखि प्रथम पाल्पा महोत्सव शुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ ।
समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका छन् ।
त्यस्तै पाल्पाका कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु, राष्ट्रिय अन्तरराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्रीलाई पनि महोत्सव राखिएको उनले जानकारी दिए ।










