#

नगरकाेटका स्थानीयवासी र प्रहरीबीचबीच झडप

  सवाल नेपाल   २०७६ फाल्गुन २, शुक्रबार २१:२१ मा प्रकासित

भक्तपुरको चाँगुनारायण नगरपालिका-६, नगरकोटको लामा टोलका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।

सरकारले कोरोना भाइरस प्रभावित चीनको उहानबाट ल्याइने नेपालीलाई त्यस क्षेत्रमा राख्ने तयारी गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका हुन्। त्यस क्रममा नगरकोटको लामाटोलवासी र प्रहरीबीच शुक्रबार दिउँसो झडप भएको हो।

झडप भए पनि दुवैतर्फ कुनै दुर्घटना नभएको प्रहरीले जनाएको छ। प्रहरीमाथि स्थानीयवासीले ढुङ्‌गामुढा गरेपछि प्रहरीले केही स्थानीयलाई लाठी चार्जसमेत गरेको थियो। भक्तपुर प्रहरीले स्थानीयबाट सामान्य ढुङ्‌गामुढा भएको जनाएको छ।

नगरकोटका स्थानीयवासी ५ दिनदेखि चीनबाट ल्याउन लागिएका नेपालीलाई अन्य ठाउँमा राख्न भन्दै आन्दोलित छन्। ‘चीनमा रहेका नेपालीलाई ल्याउनु हुन्न भनेको होइन, तर सरकारले अहिले नगरकोट र खरिपाटीमा राख्ने तयारी जुन गरेको छ, त्यो उपयुक्त ठाउँ होइन,’ स्थानीय धनबहादुर तामाङले भने, ‘नगरकोट पर्यटकीय क्षेत्र हो, मनोवैज्ञानिक त्रासले गर्दा यहाँको पर्यटन व्यवसाय त खत्तम हुनसक्छ।’

सरकारले नगरकोटको खानेपानी संस्थानको तालिम केन्द्र र खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन स्थापना गरी राख्ने तयारी गरेको छ। दुवै क्षेत्रमा बाक्लो बस्ती भएकाले उनीहरूलाई राख्न नहुने स्थानीयको तर्क छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी