काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मथलो तेह्रथुमकाे आठराइ गाउँपालिका जाने भएका छन्।
उनी हेलिकोप्टरमार्फत् आइतबार त्यसतर्फ जान लागेका हुन्। आज प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमकाे आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।
स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम सहभागी हुने गरेका प्रधानमन्त्री ओली ६ महिनापछि आज उपत्यकाबाहिर निस्कन लागेका हुन्। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुरुप कार्यक्रममा कम सहभागी हुने गरेका थिए। सरकारका नियमित कार्य तथा पार्टी सचिवालयको बैठकसमेत बालुवाटारमा बोलाउँदै आएका प्रधानमन्त्रीले राजधानीमा हुने कार्यक्रममा समेत कमै उपस्थित हुने गरेका छन्।
ad प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि जन्मस्थान आठराईमा विशेष कार्यक्रम गर्न लागिएको छ। प्रधानमन्त्री जन्मथलो जाने भएसँगै आठराई गाउँपालिकामा प्रधानमन्त्रीको पुरानो घर निजकै हेलिप्याड निर्माण गरिएको छ।
प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकाले तयारी तीव्र पारेको आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वाले जानकारी दिइन्। प्रधानमन्त्रीले सडक उद्घाटन गर्ने कार्यक्रम रहेकाे उपाध्यक्ष कन्दङ्वाले जानकारी दिइन्।
दुई वर्षे कार्यकाल पूरा गरेका प्रधानमन्त्री ओली आइतबार आफ्नै निर्वाचन क्षेत्र झापामा हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा सडक, पुल उद्घाटन र पुल शिलन्यास गर्ने कार्यक्रम तय भएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका र दमक नगरपालिका जोड्ने पुल विगतमा उद्घाटन गर्ने भनिएपनि सर्दै आएको थियो।










