मिर्गौला प्रत्यारोपण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ।

सवा लाख दीप प्रज्ज्वलनसहित बुधबार पशुपतिमा पहिलो पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सेतोपाटीलाई बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रधानमन्त्रीज्यू कोषको संरक्षक पनि हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गरेको हुँ,’ कोषाध्यक्ष थापाले भने, ‘विशेष पूजा गर्न व्यक्तिगत रूपमा २७ हजार रूपैयाँ तिरेर पूजा गरेको हो।’

विशेष पूजा गर्न पशुपतिमा २७ हजार तिर्नुपर्ने नियम रहेको उनले बताए।

‘यो कोषको तर्फबाट पैसा तिरेको होइन,’ उनले भने। बुधबार विहान ९:३० बजे देखि १५ मिनेट विशेष पूजा गरिएको उनले जानकारी दिए।

पशुपति मन्दिरका पूजारी भट्टले नै पूजा गरेका हुन्। ‘प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनामा नौ ग्रहदेखि सबैको पूजा गरियो,’ उनले भने।