तनहुँ । चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ ७ वर्षीय अनुप नपाली चितुवाको आक्रमणमा परि घाइते भएका हुन् ।
आमासँग विवाह भोज खान गएका अनुप घरनजिकै चितुवाको आक्रमणमा परेको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यहाँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।










