प्रमोद कुमार साह
जनकपुरधाम । धनुषाको रमदेयास्थित महरा टोल अहिले शोकमग्न छ । मदिरा सेवनले गाउँमा दजर्नभन्दा बढि मानिसको मृत्यु भएपछि पूरै गाँउ नै शोकमग्न भएको हो ।

यस वर्ष मधेशको होली मंगलबार परेको थियो तर मंगलबार माछामासु खाने दिन नभएकाले मधेशमा बुधबार होली मनाइयो । सोहि दिन दैनिक झै घरेलु मदिरा खाने होटलमा मदिरा खाएका गाउँका दुई दर्जन मानिस अहिले जीवन मरणको दोसाधमा परेका छन् ।

दलित बस्ती रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ र २ को महरा टोलमा घरेलु मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेमा अधिकांश २५ देखि ३५ वर्षका रहेका छन् । गाउँमै खेतीपाती गरेर परिवारको जीवनयापन गरिरहेका ३५ वर्षका लक्का जवान रामनरायण महराको मृत्यु सँगै दुइ साना छोरा र असंख्य सपना बोकेकी श्रीमती संगीता देवीको सारा संसारनै लुटिएको छ । रामनारायणका पिता निरशन महरा भन्छन्, ‘होलीको दिन उनी मदिरा खाएर घर आए, सबै ठिकै थियो तर रातिमा टाउको दुख्यो भनेर कराउन थाल्यो, समयमै वगलमै रहेको जानकी मेडीकल कलेजको अस्पतालमा पुरर्यायौँ तर केही हुन सकेन, आफनो घरको एकलौता सन्तानलाई कालगतीले लग्यो ।’

जनकपुरधाम उपमाहानगरपालिका–२० देवपुरा टोलका राजु महरा होली मनाउनका लागि सोहि गाउँस्थित आफ्नो ससुराली पुगेका थिए । एक छोरा र एक छोरीका पितासमेत रहेका उनको पनि घरेलु मदिरा सेवनकै कारण मृत्यु भयो । अहिले उनकी श्रीमती बोल्न सक्ने अवस्थामा छैनन् । चार छोरी र एक छोराका पिता व्रम्हदेव यादवको मदिरा सेवनकै कारण मृत्यु भएपछि अहिले उनकी श्रीमती धनलुटिया देवीमाथि दुखको पहाडनै थपिएको छ । बुढो भइसकेका ससुरा र पाँच सन्तानको सम्पूर्ण जिम्मेदवारी अब उनीमाथि नै थ्रुपीएको छ । ‘खेतीपाती गरेर हाम्रो जीवन चलाउथ्यो, होलीका दिन मदिरा सेवन गरेर आए दिनभर ठिकै थियो तर रातीमा धेरै नै टाउको दुख्यो भनेर चिच्याउन थालेपछि उनलाई अस्पतालमा पुर्याउनै नपाइ मृत्यु भयो, अहिले हाम्रो साहारा खोसीएको छ,’ पिता श्रीनरायण यादवले रुँदै भने ।

भर्खरैका लक्का जवान २४ वर्षका इनरजीत महरालाई पनि घरेलु मदिराकै कारण कालगतीले लग्यो । यही वर्ष मात्र विवाह गरेर भित्रिएकी उनकी श्रीमती अन्जु महरा आफ्ना दुधमुखे छोरीलाई काखमा सुताएर चुपचाप वरण्डामा बसेकि छन, उनी केहि बोल्न सक्ने अवस्थामा पनि छैनन् । भारत गएर कमाई गरी वर्षै पिच्छे घरमा आई होली मनाउने शत्रुधन मण्डललाई यस वर्षको होली अन्तिम नै भयो । उनले जवान भइसकेका २ छोरा र २ छोरीको जिम्मा पनि आफ्नी श्रीमतीमाथि राखेर विदा भए । दिनभर मजदुरी गरेर तथा किसानी गरेर जिविको उपार्जन गर्ने टोल अहिले स्तवद्ध छ । यस्ता कथा वस्तु गाउँका हरेक घरमा आइपरेको छ । अहिले पनि गाउँकै ६ जना अस्पतालमा जिवन मृत्युको दोधारमा रहेका छन् । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् ।

धनुषाकै रूपैठ घर भइ रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् । मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन्  । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ  । गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् ।

जनकपुरधाममा पनि मदिरा सेवनबाट तीन जनाको मृत्यु
जनकपुरमा अवैध घरेलु मदिरा सेवनबाट थप ३ जनाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको छ । अवैध घरेलु मदिरा सेवनबाट जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका २ जना पुरुषसहित तीनजनाको शनिबार बिहान मृत्यु भएको हो । मृत्युु हुनेमा मुसहर बस्तीका मिथिला सदा, झगरु सदा र बनारसी देवी सदा रहेका छन् भने ५ जना सिकिस्त भएका छन् । होली पर्वका दिन विषाक्त मदिरा सेवन गरेकी बनारसी देवीको शुक्रबार साँझ र मिथिला सदा एवं झगरु सदाको शनिबार बिहान मृत्यु भएको हो ।

यसअघि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– १ र २ रमदैयामा अवैध घरेलु मदिरा सेवनबाट शुक्रबारसम्ममा ९ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ जना सिकिस्त भएका छन् । एउटै गाउँमा मदिरा सेवनबाट यति धेरैको मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले एक जनाको मात्रै मृत्यु भएको पुष्टी गरेका छन् । उनले घरेलु मदिरा सेवनले नभई झाडापखालाका कारण एकजनाको मृत्यु भएको जानकारी दिए ।

धनुषामा दैनिक १० हजार अवैध घरेलु मदिरा उत्पादन
धनुषा प्रहरी स्रोतका अनुसार जिल्लामा दैनिक १० हजार लिटर अवैध घरेलु मदिरा उत्पादन हुन्छ  । दैनिक पाँच हजार लिटर त जनकपुर बजारमै आउँछ  । स्थानीय व्यापारी पनि यही तथ्यांक बताउँछन् । तर, अवैध घरेलु मदिराले पटक–पटक ठूलो संख्यामा मानवीय क्षति हुँदा पनि उत्पादन र बिक्रीवितरणमा कडाइ भएको छैन । चालू आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले जम्मा ११ हजार ६० लिटर अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ ।

त्यस्तै १० वटा उत्पादन भट्टी भत्काएको छ । धनुषाका धनुषाधाम नगरपालिकाको धारापानी, मालटोल, राई होटेल, मगरटोल, गणेशमान–चारनाथ नगरपालिकाको वीरेन्द्र बजार क्षेत्रमा घरेलु मदिरा बढी उत्पादन हुन्छ । क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजार, मिथिला–बिहारी नगरपालिकाको तारपट्टी, जनकनन्दनी गाउँपालिकाको बल्हा गोठ, जनकपुर उपमहानगरपालिकाको लादोवेलालगायत क्षेत्रमा पनि घरेलु मदिरा उत्पादन गर्ने भट्टी छ । सस्तो हुने भएकाले निम्न आय भएका व्यक्तिहरू घरेलु उत्पादन नै खान्छन् । घरेलु मदिरा लिटरको दुई–तीन सय रुपैयाँमा पाइन्छ ।

मदिरा सप्लायर्ससहित ७ जना पक्राउ
अवैध घरेलु मदिरा सेवनले एक दर्जनभन्दा बढीको मृत्यु भएको घटनामा मदिरा सप्लायर्ससहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताभित्र फागुन २९ गतेदेखि चैत १ गतेसम्म अवैध घरेलु मदिरा सेवनले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा धनुषा प्रहरीले सप्लायर्स महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ सखरी टोलका जगतनारायण मण्डललगायतका व्यक्तिलाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेहरुमा अवैध घरेलु मदिरा विक्रेताहरु लक्ष्मिनिया गाउँपालिका ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाका तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका १४ रजौलका शितल देवी यादव लगायतका रहेका छन ।

प्रहरीकाअनुसार महोत्तरीको भंगहाबाट निर्मित अवैध घरेलु मदिरा जगतनारायणमार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी विक्रीवितरण गरिँदै आएको थियो । भंगहामा निर्मित मदिरा ब्राण्डेड मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरी विक्रीवितरण गरिँदै आएको थियो । सोही मदिरा सेवन गर्दा तिनीहरुको मृत्यु हुन गएको हो । प्रहरीमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार अवैध घरेलु मदिरा सेवनले हालसम्म ८ जनाको मृत्यु र सिकिस्त ६ जना उपचारार्थ अवस्थामा रहेको छ । तर स्थानीयका अनुसार रमदैयामा १२ र जनकपुरधाम ३ जना गरी १५ जनाको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार रमदैया १ का रामनारायण महरा वडा नं. २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल, श्रीदेव यादव मृत्यु हुनेमा रहेका छन् । त्यसैगरी रामईश्वर महरा, प्रदीप सादा, भरत मण्डल, मनिर नादाफ, भरत सादा र सीताराम यादव उपचारार्थ अवस्थामा रहेका छन् ।

प्रहरीले जारी गरेको मृतकको नामावली बाहेक स्थानीयले जनाए अनुसार फागुन २७ र २८ गते रमदैयाको मुसहर वस्तीका विजय सादा, रासमती सादा, झुरुक सादाको र चैत १ गते रंजित यादवको मृत्यु भएको हो ।यसका साथै जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका बनारसी देवी सादा, झगरु सादा र मिथिला सादाको अवैध घरेलु मदिरा सेवनले मृत्यु भएको स्थानीयले जनाएका छन् । घटनाको अनुसन्धान बारे प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भंगहामा निर्मित अवैध मदिराको नमूना परिक्षणका लागि पठाइ सकिएको छ । कहाँ कहाँ सो मदिरा विक्रीका लागि निर्यात गरिएको हो, त्यसको खोजबीन कार्य अघि बढाइ सकिएको जानकारी दिएको छ । उनले अनुसन्धानको क्रममा पक्राउ परेका आरोपितको वर्गीकरण गरेर कानूनी सजायको प्रक्रिया अघि बढाइ सकिएको जानकारी समेत दिएका छन् । जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय