नेकपा (एमाले)का नेता एवं सचिवालय सचिब प्रदिप ज्ञवालीले दोलखामा माओबादीले गरेको मंगलबार राति होटलमा बसिरहेका एमालेका कार्यकर्ता कुलबहादुर तामाङको हत्या राज्य संरक्षित सामाजिक फासिबाद भएको बताउनुभएको छ ।
नेकपा (एमाले) प्रचार बिभागको आयोजनामा बुधबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रमलाई संबोधन गर्दै नेता ज्ञवालीले राज्यको आडमा गरिएको सो हत्यामा संलग्न अपराधीहरुलाई २४ घण्टाभित्र कानुनको कठघरामा नउभ्याए त्यसको परिणााम राम्रो नहुने चेतावनी दिनुभएको छ । सरकारको नेतृत्व गरेको पार्टी जसरी गुण्डागर्दीमा उत्रिएको छ त्यसप्रति नेकपा एमाले गभीर भएको भन्दै नेता ज्ञवालीले प्रहरीले यदि २४ घण्टाभित्र अपराधीलाई कठघरामा नउभ्याए एमाले चुप लागेर नबस्ने स्पष्ट पार्नुभएको छ ।
उहाले भन्नुभएको छ – सरकार आउने जाने भैरहन्छ तर प्रहरी आश र त्रासमा पर्नुहुदैन र घटनाका दोषीलाई पक्राउ गर्न ढीला नगर्न एमालेको तर्फबाट गभीरताका साथ आग्रह गर्दछु ।
एमाले कानुनलाई हातमा लिन चाहन्न तर एमालेको संयमतालाई कमजोरी ठानिए त्यसको परिणाम राम्रो हुने छैन भन्दै नेकपा एमाले सचिवालय सचिब प्रदिप ज्ञवालीले अनेक गठबन्धन गर्दा पनि अत्तालिएर हतास मनस्थितिमा रहेको सत्ताधारी दल बिछिप्त मानसिकतामा रहेका उदाहरणहरु एकपछि अर्को गर्दे देखापर्दैछन भन्नुभएको छ ।



