काठमाडौं, २८ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लव माओवादीले राजधानीलाई निशाना बनाएर आफ्ना कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई टाउको दुखाई भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले हतियारसहित तालिम प्राप्त केही कार्यकर्तालाई राजधानीमा पठाएपछि सुरक्षा निकायले ती कार्यकर्ताको खोजी तीव्र बनाएको छ । खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
चुनावको मुखमा समूहिक रुपमा पार्टी परित्याग
ओखलढुंगा, २८ वैशाख । नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरूले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् ।
उनीहरूले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ ।
पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री भने माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जिल्लास्तरका प्रमुख नेताहरूले नै सामूहिक पार्टी परित्याग गरेपछि नयाँ शक्ति अहिले नेताविहीनजस्तै बनेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।



