विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाईमा ध्यान दिनुपर्ने भएकाले दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ ।
संघले आज दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था गरेको हो । संघले पानी भरेर राख्ने प्लाष्टिकका बाल्टिन उपलब्ध गराएको संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा त्यस किसिमको व्यवस्था मिलाइएकोले पटक पटक हात धोएर कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सार्वजनिक अपिल गरिएको उनले जनाए ।
संघका प्रथम उपाध्यक्ष राजु खड्काका अनुसार दमकको नयाँ तरकारी बजार, देवकोटा चोक, जेसीज चोक, नमुना मार्ग, राधा कृष्ण मन्दिर, फाल्गुनन्द चोक, बेलडाँगी रोड, घिमिरे मार्केट, हार्डवेयर लाइन, कृष्णमन्दिर, बेलडाँगी र एकता मार्गमा त्यस किसिमको हात धुने व्यवस्था मिलाइएको छ ।
वडामा आउदाँ अनिवार्य हात धुन अनुरोध
दमक ३ वडा कार्यलयले वडा कार्यलयको सेवा लिन अनिवार्य हात धुन अनुरोध गरेको छ । वडा कार्यालयको प्रवेशद्धारमा पानीसहितको बाल्टिन राखेर हात धुने व्यवस्था गरिएको वडाध्यक्ष नविन बरालले वताएका छन् ।
हाल विश्वमा महामारी रूपमा फैलिएको कोरोना भाइरसको उच्चजोखिम भएको कारण बिशेष सावधानी अपनाउदै वडा कार्यालयले कार्यालय आँउदा र जादा हात अनिवार्य धुन यस्तो अनुरोध गरेको हो ।
कोरोना भाइरस बढी मात्रमा धेरै हातको स्पर्सले सर्ने भएकाले पनि यस्तो सावधानी अपनाइएको वडा चिव सन्दिप सुवेदीले बताए । उनका अनुसार कार्यालयमा धेरै सेवाग्राहीको काममा कागजको प्रयोग हुने भएको कारण यसबाट भाइरस सहजै सर्ने भएकाले त्यसवाट सावधानी अपनाउन अनिवार्य हात धुनका लागि अनुरोध गरिएको हो ।










