कोरोनाभाइरसले विश्वमै महामारीको रुप धारण गरिरहेको समयमा एक प्रकारको आतङ्क नै मच्चिएको छ । विश्वभर यसको प्रभाव देखा परेको छ भने अर्थतन्त्र सङ्कटमा परेको छ ।

कयौँ मुलुकले संक्रमण फैलिन नदिनका लागि ‘लकडाउन’ घोषणा गरेका छन् । हजारौँ मानिस क्वारेन्टाइनमा छन् । कयौँको रोजगारी गुमेको छ ।

यस्तो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रष्ट भइसकेको छैन । कोरोनाका कारण विश्वकै कयौँ मुलुकमा नागरिकको सामाजिक स्वतन्त्रता लगभग खोसिएको छ । यी सब परिस्थितिका बीच पनि कोरोना संक्रमणका कारण विश्वलाई केही सकारात्मक प्रतिफल प्राप्त भइरहेको छ ।

प्रदूषणमा कमी
कोरोनाभाइरसका कारण कयौँ मुलुक ‘लकडाउन’ को अवस्थामा छन् । परिणामस्वरुप प्रदूषणको स्तरमा निकै कमी आएको छ ।

चीन र इटालीमा वायु प्रदूषणको गम्भीर कारक मानिएको नाइट्रोजन डाइअक्साइडमा निकै कमी आएको छ । औद्योगिक कारखाना बन्द भएका र सडकमा कारको संख्यामा कमी आएसँगै प्रदूषण घटेको हो ।

न्यूयोर्कमा कयौँ अनुसन्धानकर्ताले जनाएअनुसार गत वर्षको तुलनामा यो वर्ष कार्बन मोनोअक्साइडमा ५० प्रतिशत कमी आएको छ । मुख्यगरी कार्बन मोनोअक्साइड कारबाट निस्किन्छ ।

हवाई यात्रामा पनि कयौँ मुलुकमा रोक लगाइएको छ । ठूलो संख्यामा उडानहरु रद्द गरिएका छन् । लाखौँ मानिस घरबाटै काम गरिरहेका छन् । आगामी समयमा विश्वका सबैजसो मुलुकले यो स्थितिलाई अपनाउने अपेक्षा गरिएको छ ।

यसका साथै पृथ्वीलाई तातो बनाउने कार्बन डाइअक्साइड ग्यासमा उत्साहप्रद कमी आएको छ ।

पानीको गुणस्तर
कोरोना प्रभावित भेनिस सहरको पानीको गुणस्तरमा निकै सुधार आएको छ । स्थानीय बासिन्दाका अनुसार सहरको नहरमा बग्ने पानीको गुणस्तर सुध्रिएको हो ।

कोरोनाभाइरसका कारण उत्तरी इटालीको यो लोकप्रिय पर्यटकीय गन्तव्यको सडक अहिले पुरै खाली देखिन्छ । पर्यटक नआएका कारण ‘वाटर ट्राफिक’ मा कमी आएको छ । परिणामस्वरुप पानी सफा भएको हो । सफा पानीका कारण नहरमा रहेका माछासमेत देख्न थालिएको स्थानीयबासीको भनाइ छ ।

उदारता
कोरोनाभाइरसका कारण कयौँ मुलुक पूर्णरुपमा बन्द भएका छन् । केही मुलुक यस प्रकारको बन्दको तयारीमा छन् ।

घरमा कहिलेसम्म थुनिएर बस्नुपर्ने हो भन्ने टुङ्गो नभएका कारण मानिसहरु खाद्यान्न लगायत अत्यावश्यक वस्तु खरिद गरेर भण्डार गर्न थालेका छन् । जसका कारण बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको छ । यसबीचमा पनि सुखद् अनुभूति देख्न पाइएको छ । उदाहरणका लागि न्यूयोर्कलाई लिन सकिन्छ ।

समाचार एजेन्सीहरुका अनुसार न्यूयोर्कमा दुई जनाले ७२ घण्टाभित्रै एक हजार तीनसय स्वयंसेवक तयार पारेका छन्, जसले सहरमा वृद्धवृद्धा तथा सहयोगापेक्षीलाई घरेलु सामान तथा औषधि घरमै लगिदिन्छन् ।

सामाजिक सञ्जाल फेसबुकका अनुसार बेलायतमा हजारौँ मानिस एउटा समूहमा आवद्ध भएका छन्, जो कोरोनाभाइरस विरुद्ध जनचेतनाका लागि बनाइएको हो । यस्तो फेसबुक समूह क्यानाडामा पनि बनाइएको छ । यस्तो समूहले फेसबुकमा सकारात्मक सन्देश प्रवाह गर्दछ ।

अस्ट्रेलियाको सुपरमार्केटमा वृद्धवृद्धाका लागि खरिद समय निर्धारण गरिएको छ । उनीहरुका लागि छुट्याइएको समयमा अन्य ग्राहकलाई सेवा बन्द गरिएको हुन्छ । परिणामस्वरुप वृद्धवृद्धा तथा अशक्तले सहज रुपमा सुपरमार्केटमा पहुँच राख्न थालेका छन् ।

कयौँले कोरोना संक्रमण सामना गर्नका लागि चन्दा दिन थालेका छन् । केहीले आइसोलेसनमा रहेका वृद्धवृद्धाका लागि खाना लगायतका आवश्यक वस्तु सहयोग गरेका छन् भने कसैले उनीहरुको आत्मबल बढाउन थालेका छन् । केहीले आफ्नो व्यवसायलाई नै परिवर्तन गरेर कोरोना संक्रमणविरुद्ध आवश्यक सामान उत्पादन गर्न थालेका छन् ।

एकजुट हुँदै मानिस
कार्यालय तथा घरको भागदौडबीच मानिसहरु आफन्तबाट केही टाढिएजस्तो देखिन्थ्यो । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरु आफ्नो घरमै सीमित हुन थालेका छन् । जसका कारण विश्वका लाखौँ मानिस आफ्नो परिवारको निकट रहन पाएका छन् ।

इटालीमा पूर्ण रुपमा सहर बन्द भएका छन् । यस्तो अवस्थामा त्यहाँका बासिन्दा आफ्नो घरको कौसीमा आएर एक अर्काको हौसला बढाउन थालेका छन् । एउटा घरको कौसीबाट अर्को घरको कौसीमा सम्पर्क बढ्न थालेको छ । टोलका सबैजसो घरका कौसीमा बसेर स्थानीयबासी गीत गाउने तथा प्रार्थना गर्दछन्, जसले एक अर्काको हौसला बढाइरहेको हुन्छ ।

धेरैजसो मानिस यतिबेला आफ्ना मित्रहरु, परिवार र आफन्तलाई फोन तथा भिडियो कलमार्फत कुरा गरिरहेका पाइन्छन् । यतिमात्र होइन, मानिसहरु मोबाइल एप्सका माध्यमले भर्चुअल पार्टी पनि गरिरहेका हुन्छन् ।
यो भाइरसको प्रकोपले स्वास्थ्यकर्मीहरु तथा तमाम अत्यावश्यक सेवामा काम गर्नेहरुको महत्वलाई पनि दर्शाएको छ । युरोपमा हजारौँ मानिस आफ्नो घरको कौसी तथा छतमा बसेर चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला बढाइरहेका छन् ।

लन्डनका धेरैजसो मेडिकल स्टुडेन्टहरु स्वास्थ्य सेवामा योगदान गर्नका लागि स्वयंसेवकका रुपमा खटिएका छन् ।

रचनात्मक क्षमतामा वृद्धि
कोरोना संक्रमणबाट जोगिनका लागि घरमा बस्न थालेपछि मानिसहरु आफ्नो रचनात्मक क्षमता देखाउन थालेका छन् । सामाजिक सञ्जालमा कयौँ मानिसले आफ्नो रुचीअनुसारको पुस्तक पढ्ने, पेन्टिङ गर्ने, कथा–कविता तथा निवन्धहरु लेख्ने गरेको अनुभव बाँडेका छन् ।

वासिङ्टनको एउटा सार्वजनिक पुस्तकालयले भर्चुअल बुक क्लव गठन गरेको छ । इटालीको चर्चित शेफले इन्स्टाग्राममा एउटा खास शृङ्खला सुरु गरेका छन्, जसलाई ‘किचेन क्वारेन्टाइन’ भनिएको छ । यसमा मानिसहरुले विभिन्न परिकार बनाउने कला सिक्दैछन् ।

अमेरिकाको टेनेसीमा एक आर्ट शिक्षकले स्कुल बन्द भएर घरमा बसेका बालबालिकाका लागि लाइभ स्ट्रिमिङ कक्षा सञ्चालन गरेका छन् ।

धेरैजसो सार्वजनिक स्थल बन्द भएका कारण मानिसहरु अनलाइनमा केन्द्रित भएका छन् । यसबाट कयौँले विभिन्न जानकारी हासिल गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर