भनिन्छ, कोरोनाको जोखिम बालबालिका र युवालाई भन्दा वृद्धवृद्धालाई बढी हुन्छ । यस्तो बेलामा ज्येष्ठ नागरिकहरुले सबैभन्द बढी सतर्क हुनुपर्छ र घरभित्रै रहनुपर्छ । तर, बुधबार बिहान मोरङको तेतरियामा अलि अनौठो दृश्य देखियो ।

कोरोनाको संक्रमण हुन नदिन सरकारले देशभर लकडाउन गरेकै दिन बुधबार मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरियामा रहेकोे सेन्चुरी कमर्सियल बैंकमा ज्येष्ठ नागरिकहरुको भीड देखिएको हो ।

यस गाउँपालिकाका ज्येष्ठ नागरिकहरुले बुधबार सामाजिक सुरक्षा भत्ता लिने दिन परेको थियो । यही कारण गाउँपालिकाभरिका वृद्धवृद्धाहरु बुधबार बिहान ८ बजेदेखि नै बैंक परिसरमा भिड लाग्न थाले ।

कोरोनाको संक्रमणबाट बच्न केहीले माक्सको प्रयोग गरे पनि अधिकांश हजुरबा हजुरआमाहरु विना माक्स लामवद्ध भएर उभिएका देखिन्थे । लाइनमा बस्ने सबै वृद्धवृद्धा कोरोनाको जोखिम हुने उमेर समूहका थिए ।

यस गाउँपालिकाका ज्येष्ठ नागरिकहरुले बुधबार सामाजिक सुरक्षा भत्ता लिने दिन परेको थियो । यही कारण गाउँपालिकाभरिका वृद्धवृद्धाहरु बुधबार बिहान ८ बजेदेखि नै बैंक परिसरमा भिड लाग्न थाले ।
ग्रामथान ४ की दिलकुमारी बिष्टले बुधबार बिहानै बैंकमा भत्ता लिन ८ बजे आएको बताइन् । उनीजस्तै सय भन्दा बढीको संख्यामा भत्ता लिन बंैक परिसरमा पुगेर लाइनमा उभिएका थिए ।

कोरोनाको जोखिम बढिरहेका बेला २५ जनाभन्दा बढीलाई एकै ठाउँमा भेला नगर्न सरकारले धेरै दिन अघिदेखि सूचना जारी गर्दै आएको छ । बुधबारदेखि त झनै लकडाउनको घोषणा नै गरिसकिएको छ । यस्तो बेलामा किन यसरी ज्येष्ठ नागरिकलाई जोखिममा पारेको भनेर अनलाइनखबरले प्रश्न गर्दा बैंकका प्रतिनिधिले हिजो बाँडेको ५० वटा टोकनको वृद्धभत्ता मात्रै बुधवार विवरण गरिएको बताए । त्यसैगरी विहीबार बाँड्नुपर्ने ५० जनालाई पनि आजै वितरण गरिने बैंकले जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ता रकम बुझ्नेको हिजोबाटै भीड लागेपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको स्थानीय ठाकुरदेबी सरदारले बताइन् । बैकमा भत्ता लिन बृद्धबृद्धाको भीड लागे पनि गाउँपालिकाका जनप्रतिनिधि र प्रहरीले भने कुनै वास्ता गरेको देखिएन ।

ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता भएका लगाएतका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता रकम उपलब्ध गराउने गरेको छ । तर, कोरोनाको उच्च जोखिममा रहेका बेला सरकारले ज्येष्ठ नागरिकमाथि गम्भीर लापरवाही गरिरहेको यो घटनाले देखाएको छ ।

गाउँपालिका अध्यक्ष भन्छन्– सबै वडामा चेतना जगाइसकेका छौं

लकडाउनका दिन ज्येष्ठ नागरिकलाई यसरी भीडभाडमा किन पठाएको भन्ने प्रश्न गर्दा ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले अनलाइनखबरसँग भने, ‘गाउँमा बूढाबूढीलाई पैसाको खाँचो परिहाल्छ नि ।’

अनि तपाईहरुले आफ्नो गाउँपालिकामा कोरोनाको जोखिमबारे जनतालाई कुनै सचेतना जगाउने काम गर्नुभएन ? अनलाइनखबरको अर्को प्रश्नमा अध्यक्ष माझीले भने– ‘हामीले सबै वडामा पुगेर साबुन पानीले हात धुनु भनेर भनिसकेका छौं ।’

अध्यक्ष माझीले थपे, ‘हामीले गाउँपालिकाका तर्फबाट मास्क पनि वितरण गरिसकेका छौं ।’ अनलाइन खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय