काठमाडौं, २८ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन विरोधी र संशोधनविना चुनावमा होमिएका दललाई तराई मधेसका जनताले ठिक पार्ने चेतावनी दिएका छन् ।
संशोधनको विपक्षमा रहेको नेकपा एमाले र संशोधनविनै पहिलो चरणको चुनावमा भाग लिएको उपेन्द्र यादवको संघीय समाजवादी फोरमतर्फ संकेत गर्दै महतोले दुवै शक्तिलाई मधेशी जनताले तह लगाउने बताए ।
विहिबार रिपोर्टर्स क्लबमा आयोजित सक्षात्कारमा बोल्दै महतोले भने- ‘मधेशी जनतालाई राम्ररी थाहा भइसकेको छ कि कुन दल संविधान संशोधनको पक्षमा छ र कुन दलले यसको विरोध गरेको छ । मधेशी जनताले अबको आन्दोलनमा त्यस्ता दललाई ठीक पार्छन् ।’ अब हुने मधेश आन्दोलन यिनै दलहरूको खिलाफ हुने उनको भनाई छ ।
‘उपेन्द्र यादवले चुनावमा गएर संशोधन मुद्दा कमजोर बनाए’
उपेन्द्र यादव र संघीय समाजवादी फोरमतर्फ इंगित गर्दै राजपा नेता महतोले संविधान संशोधन बगैर चुनावमा सहभागी भएर संशोधन मुद्दालाई कमजोर बनाएको आरोप लगाए । उनले भने– ‘हाम्रा सहयात्री दलको कारण पनि संशोधन प्रक्रिया पछि ढकेलियोको छ। पहिले पुनर्लेखन नगरे यो संविधानलाई मान्दै नमान्ने र अहिले संशोधन बगैर सुटुक्क चुनावमा सहभागी हुने दोहोरो चरित्र यसपाली मधेशी जनताले राम्ररी बुझि सकेको छ । अबको आन्दोलन यस्ता प्रवृतिका नेताविरुद्ध पनि हुनेछ ।’
‘संविधान संशोधन नभएसम्म मधेसमा कुनै चुनाव हुन्न्’
महतोले संविधान संशोधन बिना तराई मधेशमा कुनै हालतमा चुनाव हुन नदिने चेतावनी दिए । संविधान संशोधन बिना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै महतोले संविधान संशोधनमा ठूला दलको नियत ठीक नदेखिएको गुनासो गरेका छन् । उनले भने– ‘संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्नै लाग्दा राप्रपामा अचानक भएको विद्रोह संशोधन रोक्न भएको ठूलो षड्यन्त्र थियो ।’ महतोले यस घटनामा राप्रपा मात्र नभएर तीन ठूला दलका मधेश विरोधी नेताहरु पनि यस षड्यन्त्रमा सामेल रहेको आरोप लगाए ।
कार्यकर्तामाथिको झुटा मुद्दा फिर्ता लिन माग
संविधान संशोधन बिना राजपाले चुनावमा सहभागी नहुने स्पष्ट पार्दै महतोले संशोधन बाहेक आन्दोलनका क्रममा समातिएका र सोही क्रममा लगाइएका झूठा मुद्दाहरु पनि फिर्ता लिन सरकारसंग जोडदार मांग गरेका छन् । प्रचण्ड सरकारलाई लक्षित गर्दै राजेन्द्र महतोले भने– सरकारले आफू गर्न सकिने काम पनि नगर्दा सरकारको नियतमा शंका भई रहेको छ । प्रचण्ड सरकार गठनको बेला मधेशी मोर्चासंग गरिएको समझौता अनुरूप झूठा मुद्दा फिर्ता लिने र जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउन मांग गरे ।
४ गतेभित्र माग पूरा नभए कडा आन्दोलन गर्छाै
संविधान संशोधन लगायत स्थानीय तहको संख्या बढाउने र झुठा मुद्दा फिर्ता लिने काम आगामी ४ गते भित्र नगरे राजपाको नेतृत्वमा संघीय गठबन्धनले कड़ा आन्दोलन थालने बताए । उनले सरकार र तीन ठूला दललाई जेठ ४ गते सम्मको अल्टिमेटम आफूहरुले दिई सकेको बताउँदै यी मांगहरु पूरा नभए राजपा र संघीय गठबन्धनको बैठकले निर्णायक आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन् ।



