काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता देखाउने दाँत मात्र सावित भएको छ । निर्वाचनको सम्मुुखमा मन्त्रिमण्डल विस्तार गर्ने, संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सिफारिस गर्नेदेखि मन्त्रीहरुले निर्वाचन क्षेत्रमा गएर मतदातालाई प्रभावित पार्दा समेत निर्वाचन आयोग चुपचाप छ । आयोगले मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रमा भाषण गर्न जान पाउने भनेर आफैंले जारी गरेको आचारसंहिताको खिल्ली उडाएको छ ।
मन्त्रीले निर्वाचन क्षेत्रमा पाउने भनेर निर्वाचन प्रभावित पार्न छुट दिएको सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल आज भरतपुरमा छोरी जिताउन चुनावमा जान लागेको कुरामा समेत कुनै चासो देखाएको छैन । प्रधानमन्त्री दाहालको क्षेत्र चितवन होइन, उनको क्षेत्र सिराहा हो । तर उनी निर्वाचन प्रभाव पार्न प्रधानमन्त्री पदको दुरुपयोग गर्दै आज भरतपुरमा आमसभामा गएका छन् । यो निर्वाचन आचारसंहिताको ठाडो उंल्लघन हो, निर्वाचन आयोगले यसमा कुनै चासो नदिनुले उसको निष्पक्षतामा प्रश्न उठाएको छ । दोलखामा मंगलबार एमाले कार्यकर्तालाई माओवादीले भालाले रोपेर मारेको कुरामा आयोगले कुनै चासो देखाएको छैन ।
निर्वाचन आचारसंहिता उल्लंघनमा आयोगले चासो नदिएकोबारेमा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो–‘प्रधानमन्त्री प्रचण्डलगायतका मन्त्रीहरू आज पनि विभिन्न ठाउँमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुने सूचना आएका छन्, नेकपा एमाले यसप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछ र कडा कारबाहीका लागि अनुरोध गर्दछ ।’ निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मन्त्रिपरिषद्ले विभिन्न पदमा नियुक्तिका साथै विभिन्न योजना तथा कार्यक्रम ल्याउनुका साथै मतदाता प्रभावित गर्ने निर्णय गर्दै आए पनि निर्वाचन आयोगले सरकार र मन्त्रीहरूलाई कारबाही त कता हो कता ध्यानाकर्षणसमेत गराएको छैन । दृष्टिन्युज



