दमक,१५ चैत । जारी लकडाउनका क्रममा मारमा परेका समुदायलाई लक्षित गरि झापाको माइपश्चिम क्षेत्रका स्थानीयहरुले स्वतफूर्त रुपमा खाद्य सामाग्रीहरु वितरण गर्न थालेका छन् ।
यसैक्रममा दमकसहित यस क्षेत्र आसपासका दैनिक ज्यालादारी गरि आएका अति विपन्न परिवारलाई चामल,तेल लगायतका खाद्य सामाग्री वितरण गर्न थालिएको छ । लकडाउनका समयमा मजदुरी गर्नवाट बञ्चित भएका परिवारलाई लक्षित गरि स्थानीय स्तरमार्फत धमाधम खाद्य सामाग्रीहरु प्रदान गर्न थालिएको छ ।
शनिवार जिल्लाको कमल गाँउपालिका वडा नम्बर ६ का एक अशक्त विपन्न समुदायलाई राहत सामाग्री प्रदान गरियो । विश्वभरि महामारीका रुपमा फैलिदैगएको नोवल कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारीसहित विपन्न समुदाय प्रभावित हुन पुगेको भन्दै कमल ६ स्थित साझा कपडा बैंकले स्थानीय रत्नपुर टोलका अशक्त अशोक दर्जीको परिवारलाई चामललगायतका खाद्य सामाग्रीहरु प्रदान गरिएको कपडा बैकका अध्यक्ष कृष्णबहादुर भण्डारीले वताए ।
विपतका समयमा विपन्न समुदायलाई राहत पुरयाँउन उद्देश्यले साझा कपडा बैंकले अभियानमार्फत १२० केजी चामल ,८० केजी आलु ,नुन ,तेल संकलन गरेको थियो । संकलित राहत मध्ये टोलका अशक्त समेत रहेका दर्जी परिवारलाई ३० केजी चामल २० केजी आलु र नुन तेल लगायतका खाद्य सामाग्रीहरु प्रदान गरिएको उनले वताए । यता दमक ५ स्थित गोर्खाली टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालले मजदुरी गरिआएकी रिना दुलालको परिवारलाई व्यक्तिगत तवरले खाद्य सामाग्री दिएका छन् । लकडाउनको क्रममा मजदुरी गर्न नपाएका दुलाल परिवारलाई शनिवार घरैमा पुगेर उनले माक्ससहित चामल,नुन,तेल लगायतका खाद्य सामग्री दिएका हुन् । यसबेला दैनिक मजदुरी गरेर खानेहरूलाई दैनिक छाक टार्न निकै गाह्रो हुन थालेकाले आफूले विपतका समयमा विपन्नलाई राहत पुरयाँउन त्यस्तो सहयोग दिएको उनले वताए ।
यता दमक ८ निवासी नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले पनि नगरपालिकाले स्थापना गरेको विपत राहत कोषलाई रु १० हजार सहयोग उपलव्ध गराएकी छन् । लिम्बुले नगरपालिकाले स्थापना कोरोना रोकथाम तथा उपचार कोषमा नगद १० हजार रुपैयाँ प्रदान गरिन् । प्रजातन्त्रका सेनानी समेत रहेका आफना दिवंगत बुबा मुगाधन राई र आमा कृष्ण कुमारी राई स्मृतिमा गठित ट्रष्टकी अध्यक्ष समेत रहेका प्रतिनिधिसभाकी सांसद लिम्बुले शनिवार नगर प्रमुख रोमनाथ ओलीलाई नगद हस्तान्तरण गरिन् । त्यस्तै, उहाँले लकडाउनका क्रममा दैनिक ज्यालादारी गरि जिवीकोपार्जन गरिआएका विपन्न समुदायलाई राहत पुरयाँउन उद्देश्यका साथ २ बोरा चामल समेत प्रदान गरिन् ।
यसैगरि,कमल गाँउपालिका वडा नम्बर ५ स्थित जनता औषधी पसलका सञ्चालक तुलसी प्रसाद तिवारी र उनकी श्रीमती जानुका थापा तिवारीले पनि गाँउपालिकाले स्थापना गरेको विपत राहत कोषमा रु १० हजार एक सय ५१ रुपैया प्रदान गरेका छन् । शनिवार त्यो राहत तिवारी दम्पत्तीले गाँउपालिकाका उपाध्यक्ष बेणु प्रसाद शिवाकोटीलाई हस्तान्तरण गरेका हुन् । फोटो गूगल










