२८ बैशाख– एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरका कांग्रेस कार्यकर्ताहरुलाई भोट दिने ठाउँ भएन भनेर चिन्तित नहुन आग्रह गर्दै एमाले उम्मेदवारलाई मतदान गर्न आव्हान गरेका छन् । भारतपुरमा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले आफ्ना सन्तानका लागि नभएर देशको विकासका लागि राजनीति गरेको पार्टी भएको वताए ।
‘आफ्नो पार्टी नेतृत्वको सिद्धान्तहिनताले कांग्रैसका साथीहरुको मन रोएको छ, म बुझ्छु । भरतपुरमा कांग्रेसले उम्मेदवार भेटेन’ ओलीले भने, ‘बाँदरमुडेमा बालिका काजोल खातुनलाई जिउँदै जलाएर मार्ने, बसको ढोका थुनेर आफ्नै दाजु भाइको हत्या गर्नेलाई र कृष्ण अधिकारीको हत्या गर्नेलाई नेतृत्वले कांधमा बोकेर हिंड्यो । तपाईंहरु नझोक्राउनुस्, एमालेको सूर्य चिन्हमा मतदान गर्नुस् एमालेले यो महानगर बनाउँछ, म जिम्मा लिन्छु ।’
ओलीले देश बनाउन पार्टी जहाँ जहाँ भए पनि एमालेलाई भोट दिन आग्रह गरे । ‘कांग्रेसका कार्यकर्ता साथीहरु आज धेरै यो सभामा आउनु भएको छ, त्यसै कारण उता दुईवाटा सरकारी पार्टीको सभा यो सभा भन्दा सानो भएको छ’ ओलीले भने, ‘तपाईंहरु अब पार्टीले गल्ती गर्यो भनेर नझोक्राउनुस्, एमालेमा लाग्नुस् त्यसको सरुवात पर्सी एमालेलाई भोट दिएर सुरु गर्नुस् ।’
उनले माओवादी कार्यकर्ताहरुलाई पनि पार्टी नेतृत्वले गरेको प्रयोगबाट बच्न सल्लाह दिए । ‘तपाईंहरुले जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर लड्नु भो, कसका लागि रहेछ आज त बुझ्नु भो होला । आफ्ना सन्तानलाई मेयर बनाउनै पर्ने जनताका छोराछोरी मरे पनि हुने’ ओलीले भने, ‘झुक्याएर तपाईंहरुलाई गलत बाटोमा लगाइयो फर्किनुस् ।’
ओलीले एमालेले लिएको देशभक्ति र आर्थिक समृद्धिको बाटोका कारण एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सत्तारुढ दलहरु डराईरहेको वताए । ‘एउटा एमालेसँग लड्न कति मिल्नु परेको छ तपाईंहरुले देख्नु भएकै छ, दायातिर कांग्रेस छ, बायाँतिर माओवादी छ’ ओलीले भने, ‘हेलिकोप्टरमा आएर उम्मेदवारी दर्ता गरेपछि हेलिकोप्टरमै प्रचारमा आउनु परेको छ ।
एमालेलाई भोट दिनु पर्ने कारण स्पष्ट पार्दै ओलीले भने– हामी भरतपुरमा मेट्रो कसरी चलाउने भन्ने सोच्छौं, रेल कसरी ल्याउने भन्ने सोच्छौं’ ओलीले भने, ‘उनीहरु छोरीको भविश्य कसरी सुक्षित गर्ने, प्रधानमन्त्री पद कसरी सुरक्षित गर्ने भन्ने सोच्छन्, यही हो हामी र उनीहको भिन्नता ।’ उनले कांग्रेस र माओवादीका कार्यकर्ताले पनि देश बनाउन एमालेलाई भोट दिनु पर्ने वताए ।
भिडियो हेर्नुहोस्



