नोबेल कोरोना भाइरसबाट लाग्ने रोगलाई कोभिड-१९ भनिन्छ। सन् २०१९ को अन्त्यतिर चीनको उहान सहरमा पहिलोपटक मानिसमा देखापरेको यो संक्रमणले यतिबेला विश्वभर नै आतंक मच्चाइरहेको छ। (शनिबार राति ९ बजे, वर्ल्डओमिटरको तथ्यांकअनुसार) कोरोना संक्रमणबाट विश्वमा १ लाख ५६ हजार २ सय ३४ मृत्यु भइसकेको छ तर सँगसँगै ५ लाख ८२ हजार ९ सय ३ जना उपचारपछि निको पनि भएका छन्।
अब जिज्ञासा लाग्न सक्छ- आखिर कोरोना संक्रमण निको हुन कति समय लाग्छ?
विज्ञका अनुसार कतिपय बिरामीलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय संक्रमित कति सिकिस्त थियो भन्ने निर्भर हुन्छ। केही मानिस चाँडै निको हुन्छन् भने अन्यलाई यसले दीर्घकालीन असर पुर्याउन सक्छ।
उमेर, लिंग तथा अन्य स्वास्थ्य समस्याजस्ता पक्षले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने कुरा निर्क्याेल गर्छन्।
कोभिड-१९ का धेरैजसो बिरामीलाई मुख्य लक्षण- खोकी र ज्वरो देखिन्छन्। साथै जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ। सुरुमा सुक्खा खोकी र पछि खकारसहितको खोकी लाग्न सक्छ।
यस्ता लक्षणमा आराम गर्ने, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोल खाने गर्दा पुग्छ। यस्ता सामान्य लक्षण भएका बिरामी छिटो र पूर्ण रूपमा निको हुन सक्ने विज्ञ बताउँछन्।
ज्वरो एक हप्तामा ठीक हुन सक्छ भने खोकी योभन्दा केही लामो समय रहन सक्छ।
चीनको आँकडाका आधारमा विश्व स्वास्थ्य सङ्गठन( डब्ल्यूएचओ) ले औसतमा २ सातामा कोरोना संक्रमित बिरामी निको हुने जनाएको छ।
तर कतिपयका निम्ति यो रोग निकै गम्भीर बन्न सक्ने विज्ञको भनाइ छ। संक्रमण भएको ७ देखि १० दिनसम्ममा यस्तो अवस्था आउन सक्छ। यो परिवर्तन निकै तीव्र गतिमा हुन सक्छ। सास फेर्न गार्हो हुन थाल्छ अनि फोक्सो सुन्निन्छ।
विज्ञका अनुसार शरीरको प्रतिरोध प्रणालीले भाइरससँग लड्न निकै संघर्ष गर्छ, जसले गर्दा शरीरमा अन्य जटिलता उत्पन्न हुन्छ। केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुन सक्छ।
चिकित्सक सेरा जार्भिसका अनुसार सास फेर्न गार्हो हुने समस्या समाधान हुन निकै समय लाग्छ, किनकि शरीरमा निकै सुजन भएका हुन्छन्। यसबाट निको हुन २ देखि आठ हप्तासम्म लाग्न सक्ने उनी सक्छ। लामो समयसम्म जिउमा थकान रहिरहन्छ।
डब्ल्यूएचओको अनुमानमा हरेक २० मध्ये एक जनालाई सघन उपचारको खाँचो पर्न सक्छ। त्यसमा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि पर्छन्।
इन्टेन्सिभ केअर मेडिसिन विभागकी डिन डा। एलिसन पिटार्डका अनुसार सघन उपचारमा रहेका बिरामीलाई पूरा स्वस्थ हुन १२ देखि १८ महिनासम्म लाग्न सक्छ।
चीन र इटलीबाट प्राप्त विवरणअनुसार कोरोनाका बिरामीलाई कमजोरी महसुस, थोरै परिश्रम गर्दा पनि स्वाँस्वाँ हुने र खोकी लाग्ने गर्छ। कतिपयलाई धेरै निद्रा पनि लाग्ने गरेको पाइएको छ।
निको भइसकेपछि पनि पुनः संक्रमण हुन्छ?
यसबारे प्रमाण कम छ। कसको प्रतिरोधी क्षमता कत्तिको दिगो हुन्छ भन्ने एकिन छैन। कसैको शरीर भाइरस हराउन सफल भएको छ भने पक्कै पनि उसको शरीरमा प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ।
विज्ञका अनुसार एकपटक निको भइसकेका कोभिड-१९ लागेका मानिस पुनः संक्रमित भएको भन्ने जुन खबर आइरहेको छ, त्यसको मुख्य कारण पहिले गरिएको परीक्षणमा भएको गल्तीका कारण संक्रमणमुक्त देखिएर हुन सक्छ।बीबीसी



