कोभिड-१९ महामारीका कारण विश्वभरि सरकारहरूले सामाजिक दूरीका कदमहरू चालिरहँदा लाखौं मानिसहरू घरभित्रै सीमित भएका छन्।
“लकडाउन” ले मानिसहरू घरभित्रै बस्न बाध्य छन्। उनीहरू अल्छि बनिरहेका छन् र खानेकुरा राखेका ठाउँ वा फ्रिजसम्मको पहुँच पनि सहज बनेको छ।
भाइरसका कारण बिरामीहरू बढिरहेको तनाव र चिन्ताका माझ मानिसहरू सहज महसुस गर्न खानेकुराहरू खान्छन्। यसले गर्दा उनीहरूको स्वास्थ्यलाई खतरामा राख्ने र मानसिक स्वास्थ्यमा थोरैमात्रै फाइदा पुग्ने गर्छ।
पोषणविद् परिसा खानिपुर कम शारीरिक व्यायाम हुने बेला निरन्तर रूपमा खाने गर्दा त्यसले नचाहेका स्वास्थ्य समस्या जस्तै वजन बढ्ने, उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने सम्भावना रहेको बताउँछिन्।
“बढी वजन र मोटोपनाको समस्या भएका मानिसहरूलाई कोभिड-१९ को थप नराम्रा असरहरू हुनसक्छन्,” इरानमा कार्यरत पोषणविद् खानिपुरले भनिन्।
कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित हुने देशमा इरान पनि पर्छ।
खानेकुरा नियन्त्रणका लागि खाना खाँदा हामी किन सहज महसुस गर्छौं भन्ने बुझ्न आवश्यक रहेको उनी ठान्छिन्।
त्यसो भए हामी किन खाइरहन्छौं त?
लकडाउनका बेला गुलियो र स्वादिलो खान मन लाग्नुका थुप्रै कारणहरू रहेको खानिपुर बताउँछिन्।
बढ्दो तनाव र चिन्ता
अल्छिपना र कुनै कामगर्ने सोख नहुनु
उदास मनस्थिति र वितृष्णा
दिउँसो सुत्नु वा अनियमित सुत्ने शैली
खानेकुरा नभए के त?
“थोरै अवधिभित्रै केही गम्भीर परिवर्तनहरूमा हामीले आफूलाई ढाल्नुपरेको छ”, खानिपुर भन्छिन्।
“यो सबैले हामीलाई थप तनाव दिन्छ वा चाहिनेभन्दा बढी उत्साही बनाउँछ, तर आफूलाई शान्त र सहज बनाउन खानेबाहेक अन्य कुरा पनि गर्न सकिन्छ।”
नकारात्मक उत्तेजना/उत्साह र भावनाको पहिचान गर्नु महत्त्वपूर्ण हुने र त्यसलाई खान मनलाग्ने कुरासँग छुट्याउनुपर्ने उनी बताउँछिन्।
भावना र तनावहरूसँग जुध्नका लागि खानु भनेको केवल अस्थायी उपायमात्रै हो र यसले स्थायी र नकारात्मक असर पार्छ भन्ने बुझ्न पनि यसले मद्दत गर्छ। बिबिसी नेपाली बाट



