काठमाण्डौ – एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँ पछि तिर्न सक्छन् ।

कोरोना भाइरस (कोभिड १९) महामारीले ल्याएको विपद्को परिस्थितिमा एनसेलले गएको शुक्रबारदेखि प्रिपेड ग्राहकका लागि यो प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र ५ रुपैयाँमा २५० एमबी डाटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएससहितको बण्डल सेवा सुरु गर्न सक्छन् ।

मेन ब्यालेन्स शून्य भएका वा ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुरु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडीमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बञ्चित भएको भन्दै एनसेलले यो सुविधा उपलब्ध गराएको जनाएको हो ।

एनसेलले लकडाउन सुरु भएपछि गएको एक महिनादेखि भ्वाइस, डाटा र एसएमएसलगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो । यस अन्तर्गतको प्राप्त डाटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजेदेखि अर्को दिनको बिहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु सात दिनको लागि मान्य हुने एनसेलले जनाएको छ । विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका र एक महिनादेखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुरु गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याक सुरु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क स्वतः काटिने छ । यसबाहेक अन्य शुल्क लाग्ने छैन ।

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डाटा प्याकको समयसीमा सात दिनबाट बढाएर १० दिन पुर्‍याएकाे छ । ग्राहकले १५ जीबीको स्टे होम डाटा प्याक २३० (कर सहित २९३.६९) रुपैयाँमा सुरु गर्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय