महाकाली नदीमा डुबेर कञ्चनपुरका तीन बालक वेपत्ता भएका छन् । नयाँ पत्रिकामा समाचार छ । शनिबार विदाका दिन महाकालीमा नुहाउन गएका एकै गाउँका तीन बालक वेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक वीरदत्त पन्तले भीमदत्त नगरपालिका–१४ बनकट्टीमा तीन बालक डुबेर वेपत्ता भएको बताए । उनका अनुसार १४ बर्षीय कपिल खाती, १५ बर्षीय राहुल उपाध्याय र १४ बर्षीय दिनेश कुँवर वेपत्ता भएका छन् । उपाध्ययले प्रभात विद्यालय नितेकनबाट कक्षा १०को परीक्षा दिएका थिए । भने खाती र कुँवर भारतमा बस्दै आएका बालक हुन् । गर्मीको समयमा गर्मी छल्न भन्दै उनीहरु नुहाउन गएका थिए ।
महाकाली नदिको सतह बढेपछि उनीहरु दिउँसो तीन बजेतिर डुबेको प्रहरीले जनाएको छ । भारतले एक्कासी पानीको ढोकाखोलेपछि सतह बढेकाले नुहाउन लागेका तीनै बालक वेपत्ता भएको स्थानीयको आरोप छ । झोलुङ्गे पुलको दक्षिणतिर नुहाई रहेको अवस्थामा उनीहरु बगेका हुन् । महाकालीमा वेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयहरुले खोजी कार्य जारी राखेका छन् । महाकाली क्षेत्रमा आफन्तको रुवाबासी चलेको छ ।
त्यस्तै, दोदा नदीमा पौडी खेल्न गएका एक बालकको पनि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज दलराम टमाटाले दोदा नदिमा डुबेर पुनर्वास नगरपालिका–६(ङ) गाउँका १६ वर्षीय तेजबहादुर दर्जी परिवारको मुत्यु भएको बताए । तेजको पौडी खेल्न नजान्दा मुत्यु भएको हनसक्ने उनले बताए । मृतकको शव परिवारलाई बुझाईएको छ । तेज जीवनज्योती माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।



