आशिष बहादुर सिंह
बझाङ । भारतका विभिन्न शहरबाट जिल्ला फर्किएर क्वारेन्टाइनमा बसेका स्थानीयले क्वारेन्टाइनमा बसेको २ साताभित्र कोरोना परीक्षण नगरे आफूहरु बिना परीक्षण घर जाने चेतावनी दिएका छन्। भारतका विभिन्न ४ क्वारेन्टाइनमा करिब ३२ दिन रहेर नेपाल फर्कि बैशाख १८ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरुले यस्तो चेतावनी दिएका हुन् ।

सरकारले तोकेअनुसार दुई हप्ता वा थप केही दिन आफूहरु क्वारेन्टाइनमा बस्ने तर समयमै परीक्षण नगरे त्यसपछि आ-आफ्नो घर लाग्ने उनीहरूले बताएका छन् । अन्नबाली भित्र्याउने समयमा आफुहरु क्वारेन्टाइनमा बस्नु परिरहेकाले खेतबारीमै अन्न खेर गएर भोकमरी हुने चिन्ताका कारण छिटो कोरोना परिक्षण गरेर घर जान दिनुपर्ने बुंगल नगरपालिकाका स्थानीय मानसिंह बोहराले बताए।

भारतबाट आएका ३ सय ८४ जना बुंगल नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले भने कोरोना परीक्षण किट अभावका कारण उनीहरुको स्वास्थ्य परीक्षण गर्न नसकिएको जनाएको छ । भारत तथा अन्य जिल्लाबाट आएकासमेत गरी ५ सय ३२ जना जिल्लाका विभिन्न १२ स्थानीय तहका क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये विथ्थडचिर गाउँपालिकामा ९६ केदार स्युँ गाउँपालिकामा २६, बुंगल नगरपालिकामा ३ सय ८४, छविस पाथिभेरा गाउँपालिकामा २६, खप्तड छान्ना गाउँपालिकामा ९ र सुर्मा गाउँपालिकामा ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

हालसम्म जिल्लाभर ९ सय १७ जनाको आरडिटी परीक्षण गरिएको छ । ती मध्ये एक जनाको मात्रै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। रिपोर्ट नेगेटिभ देखिएका भारतबाट आएका ती ३५ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि कैलाली पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय