
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अवस्थित कोसी कोरोना अस्पतालमा उपचाररत थप ८ जना जमाती कोरोना निको भएपछि आज डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका स्थानीय छन् ।
अस्पतालका अनुसार उनीहरु गत वैशाख ५ र ९ गते भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहमद इद्रिस, २८ वर्षीय मोहमद साविर, ४० वर्षीय मोहमद सनौला र भारतीय नागरिकहरु मोहमद साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम छन् ।
डिस्चार्ज भएकामध्ये ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । उनीहरुले अझ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत बस्नेतले बताए । बाह्रखरी बाट साभार



