काठमाडौं । बुढानीलकण्ठमा नगरपालिकामा २१ जनामा कोरोना भाइरसको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । नगरपालिकामा २ सय ७६ जनामा गरिएको आरडिटी परीक्षणमा २१ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

नगरपालिकाका १३ वडामा लकडाउनमा पनि दिनरात काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडिटी गरिएको हो ।

आरडिटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताउनुभयो । आरडिटी पोजेटिभ देखिएकामध्ये १५ जना पुरुष र ६ जना महिला छन् । आरडिटी पोजेटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ ।

आरडिटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि पिसिआर नै गर्नुपर्ने भएकाले आरडिटी गरी पोजेटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय