महोत्तरी । इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ । काेराेनाभाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेका कारण यस पटककाे इद घरैमा मनाउने तयारी गरिएकाे हाे ।
हिजरी संवतको रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । रमदानकै लागि भनेर सरकारले भने आइतबार सार्वजनिक बिदा दिएको छ । फरक–फरक भूगोल विशेषमा इदको दिन विगतदेखि नै फरक पर्दै आएको छ ।चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।
सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्व सोमबार मनाइने तयारी रहेको भङ्गाहा नगरपालिका–४ रामनगरका ८० वर्षीय हाजी (मक्का मदिना गएर विशेष धार्मिक विधिसम्पन्न गरेपछि इस्लाम परम्परामा नामको अगाडि थपिने उपाधि) बिहारी अन्सारीले बताउनुभयो । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ । अहिलेसम्म सोमबार इद मनाइने तयारी भए पनि मौलानाले एक दिनपूर्व नै मनाउन आह्वान गरे सोअनुसार हुने अन्सारीको भनाइ छ ।



