
काठमाण्डौं। पछिल्लो क्रममा नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
मंगलबार ९० जनामा संक्रमण देखिएकोमा हिजो बुधबार ११४ जना र आज बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तीन दिनको संक्रमितको संख्या हेर्दा कोरोना संक्रमितको संख्या अझ बढ्दैजाने देखिन्छ । आजको संक्रमितको संख्यासँगै नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नेपालमा १५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
नेपालमा गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।
सुरुमा नेपालमा संक्रमणको दर थोरै रहे पनि पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ।
नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको १०६ दिनपछि संक्रमितको संख्या १०० नाधेको थियो।
चीनबाट नेपालमा कोरोना भित्रिएको भए पनि पछिल्लो समय भारतबाट आउने नेपालीहरु बढी संक्रमित भएको पाइएको छ। अहिलेसम्म कोरोना संक्रमणकै कारण ५ जनाको मृत्यु भैसकेको छ ।



