काठमाण्डौं।  विभिन्न देशमा समस्यामा रहेका नेपालीहरुको उद्धारका लागि सरकारले तयारी अन्तिम चरणमा पुर्याएको छ । अहिले सम्बन्धित देशमा रहेका नेपाली दूतावासले फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गरिरहेका छन् ।

विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउन दिनमा १० वटा उडान गर्ने सरकारको तयारी छ । नेपाल एअरलाइन्सका जहाजले नभ्याएमा अरु वायुसेवा र विदेशी विमानसमेत चार्टर्ड गर्ने सरकारको योजना छ । सरकारले प्राथमिकताको आधारमा नेपालीको उद्धार गर्ने भएकाले त्यहीअनुसार नै सम्बन्धित देशमा रहेका नेपाली दूतावासले समन्वय गर्नेछन् ।

यसैका लागि परराष्ट्र, गृह र पर्यटन मन्त्रालय लगायत सरकारी निकायबीच आवश्यक व्यवस्थापनबारे समन्वय भैरहेको छ । विमानस्थलमा भौतिक दूरी कायम हुनेगरी रेखांकन तथा अरु काम भने सकिएको छ ।

कोरोनाको कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि बनाइएको बृहत कार्ययोजना अनुसार खाडीका देश र मलेसिया लगायतका देशबाट समस्यामा परेका नेपालीको उद्धारका लागि दिनमा १० वटा उडान हुनेगरी निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाडीका देश, मलेसिया र भारतबाट आउने नेपालीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । खाडीका देश र मलेसियाबाट स्वदेश फर्कने श्रमिकले यातायात लगायतको खर्चको व्यवस्थापन आफैं गर्नुपर्नेगरी मन्त्रिपरिषदबाट निर्णय भएको छ ।

जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको कारण विदेशमा समस्यामा परेर नेपाल आउनैपर्ने अवस्थामा रहेकालाई ल्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर